२०८२ कातिर्क ३ आइतबार

विद्यार्थी ऋणमा ऐतिहासिक राहत, अल्बानीज सरकारको घोषणा

  • admin २०८२ बैशाख २६ शुक्रबार

क्यानबेरा – प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा पुनःनिर्वाचित अष्ट्रेलियन सरकारले विद्यार्थी ऋण प्रणालीमा ऐतिहासिक सुधारको घोषणा गरेको छ। २०२५-२६ आर्थिक वर्षदेखि लागू हुने योजनाले करिब ३० लाख अष्ट्रेलियालीहरूलाई राहत दिनेछ।

सरकारले २०२५ जुन १ सम्म कायम रहेका सबै HELP, VET Student Loans र Apprenticeship Loans मा २० प्रतिशत ऋण माफी दिनेछ। औसत $२७,६०० ऋण भएका व्यक्तिका लागि यसले लगभग $५,५२० बराबरको राहत दिनेछ।

त्यस्तै, अनिवार्य ऋण भुक्तानीको थ्रेसहोल्ड पनि $५४,४३५ बाट बढाएर $६७,००० पुर्याइनेछ। यसले कम आम्दानी भएका युवाहरूलाई थप राहत दिने सरकारको दाबी छ।

साथै, २०२३ र २०२४ मा पूर्ण ऋण तिरेका र अन्य सरकारी ऋण नभएका व्यक्तिहरूलाई स्वतः रिफण्ड दिइनेछ। प्रधानमन्त्री अल्बानीजले यस कदमले शिक्षा प्रणालीलाई अझ न्यायपूर्ण बनाउने र भविष्यको पुस्तालाई आर्थिक रूपमा सबल बनाउने बताए।

सरकारको यो निर्णयलाई शिक्षा क्षेत्रका धेरैले स्वागत गरेका छन् भने केहीले यसको दीर्घकालीन वित्तीय प्रभावबारे चासो पनि व्यक्त गरेका छन्।