२०८२ कातिर्क ३ आइतबार

मेरिबेक–भरतपुर भगिनी सम्बन्ध स्थापना: नेपाल–अष्ट्रेलिया सम्बन्धमा नयाँ अध्याय

  • admin २०८२ जेठ ३ शुक्रबार

भिक्टोरिया, अष्ट्रेलिया –अष्ट्रेलियाको भिक्टोरियामा अवस्थित मेरिबेक सिटी काउन्सिल र नेपालको भरतपुर महानगरपालिकाबीच औपचारिक भगिनी सम्बन्ध स्थापना हुने घोषणा गरिएको छ। १४ मे २०२५ मा मेरिबेक काउन्सिलको बैठकमा सर्वसम्मत पारित उक्त प्रस्तावले अष्ट्रेलियाको इतिहासमा पहिलोपटक कुनै स्थानिय सरकारमार्फत नेपालसँग यस्तो सम्बन्ध स्थापना गरेको हो।

यो ऐतिहासिक सहकार्यको पहल भिक्टोरियामा कार्यरत नेपालको अवैतनिक वाणिज्यदूत निराजन गौली तथा नेपाली वाणिज्यदूत कार्यालयको संयोजनमा सम्भव भएको हो। काउन्सिलर क्रिस माइल्सद्वारा प्रस्तुत प्रस्तावलाई मेरिबेकका मेयर हेलेन डेभिडसनसहित सम्पूर्ण काउन्सिलरहरूले समर्थन जनाएका थिए।

यस निर्णयपछि दुबै पक्षबीच प्रारम्भिक तयारीहरू सम्पन्न गरी पत्राचारमार्फत औपचारिक प्रक्रिया अगाडि बढाइनेछ। भगिनी सम्बन्धमार्फत शैक्षिक, सांस्कृतिक, पर्यटन, स्थानीय प्रशासन तथा सामाजिक विकासका क्षेत्रमा द्विपक्षीय सहकार्य हुने अपेक्षा गरिएको छ।

नेपाली समुदायको बाक्लो बसोबास रहेको मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोय, यो सम्बन्धलाई थप अर्थपूर्ण बनाउने अर्को पक्ष बनेको छ। स्थानीय तहको सहकार्यबाट प्रवासी नेपालीहरूको पहिचान, प्रतिष्ठा तथा योगदानलाई औपचारिक मान्यता मिलेको मानिएको छ।

अवैतनिक वाणिज्यदूत निराजन गौलीले यस अवसरलाई “ऐतिहासिक उपलब्धि” भन्दै भने, “यो सम्पूर्ण नेपाली समुदायका लागि गर्व र प्रेरणाको क्षण हो। हाम्रो लामो मेहनत र साझा उद्देश्यको परिणामस्वरूप अष्ट्रेलियामा पहिलोपटक नेपालसँग भगिनी सम्बन्ध स्थापना हुन लागेको हो। यो केवल सुरुवात हो, अब हामीसँग अझ धेरै सम्भावनाहरू छन्। बधाई छ सम्पूर्ण नेपाली समुदायलाई।”

यस पहलले द्विपक्षीय सम्बन्धलाई नागरिक तहमा विस्तार गर्दै दुई देशबीचको मित्रता र समझदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

नेपाली वाणिज्यदूत कार्यालयका मिडिया प्रमुख निरु त्रिपाठीका अनुसार, यो सहकार्यले मात्रात्मक होइन गुणात्मक उपलब्धिहरू निम्त्याउनेछ। “हामी यो सहकार्यलाई दुई देशबीचको दीर्घकालीन सम्बन्धको आधार मान्दछौं,” उनले भनिन्।

यस निर्णयले विश्वभर फैलिएका नेपाली समुदायका लागि एक प्रेरक उदाहरण प्रस्तुत गरेको छ। स्थानीय सरकारहरू बीचको यस्तो सहकार्यले भविष्यमा अन्य नगरपालिकाहरूलाई समेत नेपालसँग सम्बन्ध विस्तार गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।