२०८२ कातिर्क ३ आइतबार

छात्रवृत्ति खोज्ने नेपाली विद्यार्थीका लागि ‘गाइड’ बन्ने वेबिनार ,अनिवार्य दर्ता आवश्यक

  • admin २०८२ जेठ ४ शनिवार

अष्ट्रेलिया/ अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिका अवसरबारे प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाले एक विशेष शैक्षिक वेबिनारको आयोजना गर्ने भएको छ।

२०२५ मे २० तारिख, आइतवार बिहान ११:०० बजे (अष्ट्रेलियन समय) Zoom मार्फत सञ्चालन हुने उक्त वेबिनारमा उच्च शिक्षा हासिल गरिसकेका तथा हाल अध्ययनरत नेपाली विद्वानहरूबाट अनुभव र मार्गदर्शन प्राप्त गर्ने सुनौलो अवसर रहनेछ।

कार्यक्रममा नेपाल र अष्ट्रेलिया दुवै क्षेत्रमा परिचित व्यक्तित्वहरू वक्ताका रूपमा रहनेछन्। अस्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) का पूर्व विद्यार्थी तथा वर्तमान संघीय सांसद डा. स्वर्णिम वाग्ले, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (UTS) का पूर्व विद्यार्थी डा. कृष्ण पौडेल, नेपाल सरकारका मानार्थ वाणिज्यदूत संजीव शर्मा, र हाल (UNSW) मा अध्ययनरत नेपाली विद्यार्थी तेजु राम सुनार वक्ताको रूपमा सहभागी हुनेछन्।

यी वक्ताहरूले अष्ट्रेलियामा उपलब्ध विविध प्रकारका पूर्ण छात्रवृत्तिहरू, आवेदन प्रक्रिया, आवश्यक शैक्षिक योग्यता, चुनौतीहरू तथा सफलताका कथाहरू साझा गर्नेछन्।

कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले आफ्नो (CV) र कुनै एक वैध परिचयपत्र (राहदानी, नागरिकता प्रमाणपत्र वा अष्ट्रेलियन ड्राइभिङ लाइसेन्स) २०२५ मे १७ भित्र [email protected] मा पठाउनुपर्नेछ। वेबिनार निःशुल्क हुनेछ, तर कार्यक्रममा सहभागिताको लागि दर्ता प्रक्रिया भने अनिवार्य रहेको आयोजकले जनाएका छन्।।

नेपालबाट अष्ट्रेलिया अध्ययनको लागि आउने विद्यार्थीहरूको संख्या बढ्दो छ। तर छात्रवृत्ति प्राप्त गर्ने प्रक्रिया जटिल र प्रतिस्पर्धात्मक हुने भएकाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई तयारीमा सहयोग पु‍र्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागद्वारा अष्ट्रेलियामा आयोजित यो कार्यक्रम प्रवासी नेपाली विद्यार्थीहरूको शैक्षिक आकांक्षालाई सघाउने उल्लेखनीय प्रयासको रूपमा हेरिएको छ।

नेपाल सरकारका मानार्थ वाणिज्यदूत संजीव शर्माले भने, “हामी यस्तो माध्यम चाहन्थ्यौं जहाँ विद्यार्थीहरूले सीधा अनुभव सुनुन्, जिज्ञासा सोध्न सकून् र सही दिशामा तयारी गर्न सकून्। यो वेबिनार त्यसैको एउटा उदाहरण हो।”

यस कार्यक्रमले छात्रवृत्ति खोज्दै रहेका हजारौं नेपाली विद्यार्थीलाई मार्गदर्शन दिनुका साथै आगामी पुस्ताका लागि प्रेरणा बन्ने विश्वास लिइएको छ।