अष्ट्रेलिया / अष्ट्रेलियन संघीय प्रहरीले (AFP) दुई जना रोमानियाली नागरिकलाई सिड्नी र इलावारा क्षेत्रका एटीएमहरूमा स्किमिङ उपकरण जडान गरी $८ लाख डलरभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ गरी मुद्दा दायर गरेको छ।

AFP का अनुसार अनुसन्धान २०२५ अप्रिलमा सुरु गरिएको हो, जब सिड्नीका विभिन्न बैंकहरूले एटीएमहरूमाथि शंका लाग्दो गतिविधिको सूचना दिएका थिए।
प्रहरीले जनाएको छ कि ती दुई व्यक्तिले “स्किमर” नामक पातलो धातु उपकरणहरू एटीएमको कार्ड स्लटमा राख्थे। स्किमरले कार्ड प्रयोग गर्नेबित्तिकै त्यसमा रहेको चुम्बकीय पट्टी (magnetic strip) बाट वित्तीय विवरणहरू संकलन गर्दथ्यो। उपकरण पुन: निकालिएपछि ती विवरणहरू प्रयोग गरी नक्कली (क्लोन) कार्डहरू बनाइन्थ्यो। त्यसैका आधारमा उनीहरूले पीडितहरूको खाताबाट ठूलो मात्रामा रकम निकालेर ठगी गरेको आरोप छ।
प्रहरीले यो पनि जनाएको छ कि उनीहरूले एटीएममा जडान गरिएका स-साना क्यामेराहरूलाई छोपेर सुरक्षाबाट बच्ने प्रयास गरेका थिए।
AFP ले घटनाको थप अनुसन्धान जारी राखेको छ र नागरिकहरूलाई एटीएम प्रयोग गर्दा सतर्क रहन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रीया