एडिलेड — दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका लामो समयदेखि सामाजिक सेवामा सक्रिय थिर गुरुङले आउँदो जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राज्य संयोजक पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
१८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्। उनले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनी भन्छन्, “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो।”
गुरुङको प्राथमिकतामा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, तथा नेपाली खेलकुद र व्यवसायिक क्षेत्रसँग सहकार्यजस्ता कार्यसूची छन्। साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।
“पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो,” भन्दै उनले सबैलाई एकताबद्ध भएर नेपाली समुदायको हितका लागि काम गर्न आह्वान गरेका छन्। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाका वर्तमान कार्यसमितिका सचिव समेत हुन्।
गुरुङले दक्षिण अष्ट्रेलियावासी सबै नेपालीहरूको साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।
तपाइँको प्रतिक्रीया