एडिलेड, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि विनोद बानियाले राज्य संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि एनआरएनएमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका बानिया हाल संस्थाको डेपुटी संयोजकका रूपमा कार्यरत छन्। यसअघि उनी युथ सदस्य, स्टेट सचिव जस्ता जिम्मेवारीमा पनि रहिसकेका छन्। संस्थाभित्र विभिन्न तहमा अनुभव बटुलेका बानियाले अब नेतृत्वमा उभिएर संगठनलाई अझ पारदर्शी, समावेशी र दीगो मार्गमा अगाडि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।
बानियाले आफ्नो घोषणामा एनआरएनए कुनै व्यक्ति विशेषको संस्था नभई सबै नेपालीको साझा घर भएको उल्लेख गर्दै यसलाई विश्वास, पारदर्शिता र सहकार्यको आधारमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले एनआरएनएलाई अझ जनमुखी, प्रभावकारी र जिम्मेवार बनाउँदै यसलाई सबै नेपालीको अपनत्व महसुस हुने संस्थामा रुपान्तरण गर्ने चाहना व्यक्त गरे।
विनोद बानियाको उम्मेदवारी विशेषगरी तीनवटा आधारमा केन्द्रित देखिन्छ—संस्थागत सुधार, युवाको सहभागिता, र समुदायसँगको प्रत्यक्ष सम्बन्ध। उनले एनआरएनए साउथ अष्ट्रेलियाको विगतको संरचना, चुनौतीहरू र सम्भावनाहरूलाई नजिकबाट बुझ्ने मौका पाएको बताउँदै अब समय दीर्घकालीन सुधारतर्फ उन्मुख हुनुपर्ने बताए।
बानियाले युवाहरूलाई लक्षित गर्दै करियर गाइड, रेज्युमे लेखन कार्यशाला, नेतृत्व अभिमुखीकरण कार्यक्रमजस्ता योजनाहरू अघि सार्ने जनाएका छन्। उनको भनाइमा, दोस्रो पुस्ता (second generation) लाई नेतृत्व र जिम्मेवारीमा जोड्नु अबको आवश्यकता हो, र यसका लागि व्यवहारिक प्लेटफर्म निर्माण गर्नुपर्छ।
उनले मानसिक स्वास्थ्य, जुवा र लत सम्बन्धी जोखिम, नयाँ विद्यार्थी तथा आगन्तुकहरूलाई पर्ने व्यवहारिक तथा कानुनी चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। समुदायका लागि प्रभावकारी र व्यवहारमै लागू हुने कार्यक्रम ल्याउनु आफ्नो प्राथमिकता रहेको बानियाले बताए।
साथै, सदस्यता प्रणालीलाई अझ उपयोगी बनाउँदै ‘मेम्बरशिप बेनिफिट प्रोग्राम’ सुरु गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्। यसमार्फत नेपाली व्यवसायहरूसँग सहकार्य गर्दै सदस्यहरूलाई छुट र सेवामा विशेष सुविधा दिने उद्देश्य राखिएको छ।
महिला सहभागिता र सशक्तिकरणप्रति समेत उनको दृष्टिकोण स्पष्ट छ। “सशक्त महिला, सशक्त समाज” भन्ने नारासहित महिलाहरूको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक सहभागिता अभिमुखी कार्यक्रम सञ्चालन गरिने उनले जनाएका छन्। साथै, अघिल्लो कार्यकालमा भएका सकारात्मक पहलहरूलाई निरन्तरता दिँदै समुदायको आवश्यकताअनुसार नयाँ परियोजनाहरू पहिचान र कार्यान्वयन गर्ने बताए।
अन्त्यमा, बानियाले चुनावसम्म थप योजना र एजेन्डा सार्वजनिक गर्दै जाने जनाउँदै आफू नेतृत्व गर्न सक्षम रहेको विश्वास व्यक्त गरे। “म संस्थामा बिताएका अनुभव, समर्पण र समावेशीताका मूल्यहरूमार्फत सबै नेपालीको भावना समेट्न चाहन्छु। तपाईंहरूको सुझाव, समर्थन र विश्वास मेरो लागि मार्गदर्शक हुनेछ,” भन्दै उनले सबैमा साथको अपिल गरेका छन्।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुँदैछ। समुदायमा लामो समयदेखि सक्रिय भूमिका खेलेका विनोद बानियाको उम्मेदवारीसँगै एनआरएनए साउथ अष्ट्रेलियाको नेतृत्वमा नयाँ सोच, सन्तुलन र समावेशिताको बहसले नयाँ मोड लिन थालेको देखिन्छ।
यस अघि साउथ अस्ट्रेलियाको संयोजक पदकै लागि वर्तमान एनआरएनए अस्ट्रेलियाका सचिव थिर गुरुङले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो।
तपाइँको प्रतिक्रीया