२०८२ माघ २ बिहीबार

साउदर्न नाइट्स क्रिकेट क्लबद्वारा उत्कृष्ट खेलाडीहरूको सम्मान, संगम गौतम ‘वर्ष खेलाडी’ घोषित (फोटो फिचर)

  • admin २०८२ जेठ १५ बुधबार

एडिलेड, अष्ट्रेलिया — नेपाली समुदायमा क्रियाशील साउदर्न नाइट्स क्रिकेट क्लब, एडिलेडले २०२४/२५ क्रिकेट सिजनको समापन एक भव्य सम्मान समारोहमार्फत सम्पन्न गरेको छ। क्लबले वर्षभर उल्लेखनीय प्रदर्शन गरेका खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गर्दै प्रशिक्षक, व्यवसायी, प्रायोजक र समर्थकहरूप्रति आभार व्यक्त गरेको हो।

एडिलेडको ग्लेन्डोरस्थित फ्रेस चुलो रेस्टुरेन्टमा आयोजना गरिएको विशेष कार्यक्रमको उद्देश्य सिजनभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सम्मान, क्लबको प्रगतिपथको समीक्षा र खेलाडीबीचको एकता सुदृढ गर्नु रहेको थियो। क्लबले घरेलु लिगहरू र क्यानबेरामा सम्पन्न नेपाली क्लबहरूको राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडी, प्रशिक्षक र समर्थकहरूलाई सम्मानित गरेको हो।

सम्मान समारोहको केन्द्रबिन्दु बने संगम गौतम, जसले २०२४/२५ सिजनमा उल्लेखनीय प्रदर्शन गर्दै ७७५ रन बनाउनुका साथै १६ उत्कृष्ट क्याच लिएका थिए। उनी क्लब तथा नेपाली क्रिकेट समुदायको गर्वका पात्र बनेका छन्। क्लबले उनलाई ‘वर्ष खेलाडी’ घोषणा गर्दै विशेष ट्रफी र ५०० अष्ट्रेलियन डलर प्रदान गर्‍यो।

त्यसैगरी अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि सम्मानित भए:कार्यक्रममा वेस्ट फिल्डर निराजन पाण्डे, बेस्ट व्याट्स म्यान संगम गौतम, वेस्ट अलराउन्डर प्रशुन थापा, वेस्ट बलर राजु गुरुङलाई सम्मान गरिएको थियो ।

प्रशिक्षक धीरज ज्ञवालीको सम्मानपूर्वक बिदाइ -साउदर्न नाइट्स क्लबका पूर्व खेलाडी तथा पछिल्ला सिजनमा समर्पित प्रशिक्षकका रूपमा योगदान पुर्‍याएका धीरज ज्ञवालीले औपचारिक रूपमा क्लबबाट बिदा लिएका छन्। उनको बिदाइ भावुक तथा प्रेरणादायी बन्यो। क्लबका अध्यक्ष, सदस्य, खेलाडीहरूले खादा र माला अर्पण गर्दै ज्ञवालीप्रति कृतज्ञता व्यक्त गरे।

एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (ANCA) का अध्यक्ष विजय जोशीले कार्यक्रममा सम्मानित खेलाडीहरूलाई बधाई दिँदै साउदर्न नाइट्सको समर्पण, अनुशासन र टिमवर्कको प्रशंसा गरे। कार्यक्रममा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका निर्देशक रुपक वर्तौला, सम्मानितहरु धीरज ज्ञवाली, संगम गौतम, र अन्य अतिथिहरूले क्लबसँग जोडिँदाका अनुभवहरु सुनाउँदै क्लबलाई आगामी दिनको शुभकामना दिएका थिए।

क्लबको प्रायोजनमा Expert Education & Visa मुख्य प्रायोजक थियो भने Doko Tours, Hydrilla, Gurkha’s, Malobo, Loan Solutions, Uno Momo, Megatech IT Systems लगायतका संस्थाहरूले समेत समर्थन गरेका थिए।

समारोहको संयोजन र सञ्चालन क्लबका प्रशुन थापा मगरले आकर्षक शैलीमा गरे। अन्त्यमा क्लब अध्यक्ष बिकास सुवेदीले अध्यक्षीय मन्तव्य दिँदै भने: “आज हामी लिग विजेता बन्न सफल भयौं भने त्यो खेलाडीको मेहनत, प्रशिक्षकको समर्पण, प्रायोजक र परिवारको साथबिना सम्भव थिएन। हामी सबैप्रति आभारी छौं।” उनले आगामी दिनहरूमा अझ व्यवस्थित र बलियो टोली निर्माण गर्दै अगामी प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।

साउदर्न नाइट्स क्लबको यो सम्मान समारोह खेलकुदले समुदायमा कसरी एकता, प्रेरणा र पहिचान दिन सक्छ भन्ने उदाहरण बनेको छ। नेपाली युवाहरूको प्रतिभा र अनुशासन अष्ट्रेलियामा स्थापित हुँदै गएको सन्देश यो कार्यक्रममा झल्किएको थियो। साउदर्न नाइट्स क्रिकेट क्लब अहिले एडिलेडमा मात्र नभई अष्ट्रेलियाको नेपाली खेल क्षेत्रमै उदाहरणीय बन्न थालेको छ।