अष्ट्रेलिया- अमेरिकाको लस एन्जलसमा भइरहेको आप्रवासन विरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेकी अष्ट्रेलियन समाचार संस्था 9News की अमेरिकी संवाददाता लरेन टोमासी माथि प्रहरीले रबर बुलेट प्रहार गरेको घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।
टोमासीले आइतबार लस एन्जलसको एक डिटेन्सन सेन्टर अगाडि प्रत्यक्ष प्रसारण सकाएर हट्न लाग्दा एक अधिकारीले नजिकबाट बन्दुक ताकेर रबर बुलेट चलाएका थिए। उनी चिच्याउँदै फर्किएको दृश्य विश्वभर भाइरल बनेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीज ले उक्त घटनालाई “उपेक्ष्य र आपत्तिजनक” भन्दै निन्दा गरेका छन्। उनले भने, “टोमासीमाथि प्रहरीको गोली प्रहार सुनियोजित देखिन्छ। उनी पत्रकार भनेर स्पष्ट चिनिने पोशाकमा थिइन्। यसमा कुनै अन्योल थिएन।”
प्रधानमन्त्रीले यो विषय अमेरिकाको प्रशासनसँग उठाइएको र पत्रकार सुरक्षाप्रति अष्ट्रेलियाको स्पष्ट धारणा रहेको बताए। तर, उनले आगामी G7 सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग यो विषयमा प्रत्यक्ष कुरा गर्ने कुरालाई खुलस्त भनेनन्। “राष्ट्रपतिसँग हुने वार्तालापहरू कूटनीतिक र गोप्य तरिकाले गरिन्छन्,” उनले भने।
प्रधानमन्त्री अल्बानीजले सोमबार नेशनल प्रेस क्लबमा बोल्दै भने, “मिडियाको भूमिका महत्वपूर्ण हुन्छ। यस्तो व्यवहार अस्वीकार्य हो।” टोमासीले 9News को ६ बजेको बुलेटिनमा आफू सामान्य चोट लागेपनि सुरक्षित रहेको बताउँदै भनिन्, “म ठिक छु। मेरो क्यामेराम्यान जिमी र म दुबै सुरक्षित छौं। तर आजको दिन लस एन्जलसको सडकमा निकै तनावपूर्ण रह्यो।”
यो घटना कसले गर्यो — स्थानीय प्रहरी कि संघीय अधिकारी भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। LAPD (Los Angeles Police Department) ले यसबारे प्रारम्भमा कुनै टिप्पणी नगरे पनि पछिल्लो जानकारी अनुसार घटनाको औपचारिक छानबिन गरिने जनाइएको छ।
यस घटनापछि अष्ट्रेलियामा पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रता सम्बन्धी चासो तीव्र बनेको छ। सांसदहरू, मानवअधिकार समूह र पत्रकार महासंघहरूले प्रधानमन्त्रीलाई राष्ट्रपति ट्रम्पसँग कडा रूपमा कुरा गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्रीले टोमासीसँग फोन सम्पर्कमा आफूले कुराकानी गरेको र उनी “मजबुत र आत्मविश्वासी” रहेको जानकारी पनि दिएका छन्।
तपाइँको प्रतिक्रीया