२०८२ कातिर्क ३ आइतबार

एनआरएनए भिक्टोरिया संयोजक पदमा महादेव धानुकको उम्मेदवारी घोषणा

  • admin २०८२ असार २१ शनिवार

मेलबर्न,अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको भिक्टोरिया राज्य संयोजक पदका लागि महादेव धानुकले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गरेका छन्। पछिल्ला १५ वर्षदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका धानुक विगत चार वर्षदेखि एनआरएनए भिक्टोरियासँग प्रत्यक्ष आबद्ध रहँदै आएका छन्। दुई वर्ष राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्यका रूपमा र पछिल्लो दुई वर्ष डेपुटी कोअर्डिनेटरको जिम्मेवारीमा रहेर उनले समुदायको हितमा काम गर्दै आएको उल्लेख गरेका छन्।

आगामी कार्यकालका लागि “सहकार्य, पारदर्शिता, जवाफदेहिता, समावेशिता र सामुदायिक सद्भाव” लाई आफ्नो अभियानको मूलमन्त्र बनाउने घोषणा गर्दै धानुकले समुदायमै आधारित, सबैको सहभागिता र विश्वासमा टेकेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

उनको दृष्टिकोणमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, विद्यार्थी तथा आपतकालीन अवस्थामा सहयोग प्रणाली निर्माण गर्ने, सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमलाई सशक्त बनाउने, सामुदायिक भवन निर्माणमा सहकार्य विस्तार गर्ने, तथा समुदायको आवाज सुन्न खुला संवादलाई प्रोत्साहन गर्ने प्रमुख प्राथमिकता रहेका छन्।

त्यस्तै, महिला, युवा र दोस्रो पुस्ताको पहिचान र नेतृत्व विकास, क्षेत्रीय भिक्टोरियामा रहेका नेपाली समुदायहरूसँग सहकार्य, नेपाल पर्यटन तथा नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन, शिक्षा, रोजगारी र मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने र डिजिटल प्रविधिमार्फत सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने विषयलाई पनि उनले आफ्नो योजना र दृष्टिकोणमा समेटेका छन्।

“एनआरएनए हामी सबैको साझा संस्था हो — कुनै एक व्यक्तिको होइन” भन्दै धानुकले आगामी नेतृत्व समर्पित, समावेशी र सहकार्यमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। अनुभवी, समर्पित र सेवा गर्न तत्पर रहेको सन्देश दिँदै उनले सम्पूर्ण भिक्टोरियावासी नेपाली समुदायसँग साथ, सहयोग र विश्वासको अपिल गरेका छन्।

“Together for Stronger Nepali Diaspora” भन्ने नाराका साथ अघि बढेका महादेव धानुकले आफ्नो अभियानमार्फत नेपाली डायस्पोरालाई अझ एकीकृत, सशक्त र भविष्यमुखी बनाउने अठोट व्यक्त गरेका छन्।