एडिलेड,अष्ट्रेलिया / गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि दक्षिण अष्ट्रेलियाको राज्य संयोजक पदमा थिर गुरुङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका गुरुङले आगामी जुलाई २६ मा हुने निर्वाचनमा सहभागिता जनाउँदै आफूले सामाजिक उत्तरदायित्व, पारदर्शिता र सहकार्यलाई मूल आधार मानेर नेतृत्वदायी भूमिकामा अघि बढ्न चाहेको स्पष्ट पारेका छन्।

थिर गुरुङले अष्ट्रेलियामा आफ्नो १८औँ वर्ष पूरा गर्दैछन्। यस अवधिमा उनले एनआरएनएसहित विभिन्न संघ–संस्थामा स्वयंसेवक, सल्लाहकार तथा नेतृत्व तहमा रही समाजसेवामा समर्पित भूमिका निर्वाह गर्दै आएका छन्। एनआरएनएमा १५ वर्षभन्दा बढीको संलग्नतामार्फत उनले आपतकालीन उद्धारदेखि विद्यार्थी सहयोग, सामाजिक कार्यक्रम आयोजना तथा संस्थागत समन्वयमा महत्त्वपूर्ण योगदान दिएका छन्। यही अनुभव, निरन्तर सक्रियता र अधुरा कामहरूलाई निरन्तरता दिन उनले यसपटक राज्य संयोजकको पदमा उम्मेदवारी दिएका हुन्।
गुरुङको भनाइमा, एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो विश्वभर फैलिएको नेपाली समुदायको साझा आवाज र पहिचान हो। उनले नेतृत्वमा आएपछि एनआरएनएलाई अझ पारदर्शी, समावेशी र जवाफदेही बनाउने लक्ष्य लिएका छन्। युवापुस्ता, विद्यार्थी, व्यवसायी तथा समुदायमा बसोबास गरिरहेका सबै नेपालीबीच आपसी सहकार्य, विश्वास र सहभागितालाई प्रोत्साहन गर्दै एनआरएनएलाई व्यवहारिक रुपमा समुदायको नजिक पुर्याउने उनको योजना छ।

उनको कार्ययोजनामा विशेषतः सामुदायिक हल निर्माणका लागि अभियान, दोश्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, प्रत्येक ३–६ महिनामा समुदायसँग प्रत्यक्ष संवाद र समाधान खोजी, नेपाली संघ–संस्था तथा खेलकुद क्षेत्रसँग समन्वय, व्यवसायीहरूसँग जानकारी आदानप्रदान, विद्यार्थी सहयोग तथा एनआरएनएको इतिहास समेटिएको प्रकाशन योजना जस्ता पहल समावेश छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत आफूलाई साथ दिने सबै सहयोगीहरूलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक सहभागिता र समर्थनको अपेक्षा गरेका छन्। उनले भनेका छन्, “संगै मिलेर सामाजिक काम गरौं — अबको यात्रा तपाईंहरूको साथ, मेरो आवाज।”
उनको उम्मेदवारीले दक्षिण अष्ट्रेलियामा एनआरएनएको नेतृत्वप्रति नयाँ सोच, जवाफदेहिता र भविष्य केन्द्रित दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ। समुदायप्रति समर्पण, संस्थाप्रतिको सम्मान र सहकार्यमा विश्वास राख्ने थिर गुरुङको उम्मेदवारीले एनआरएनएमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। गुरुङ हाल एनआरएनए अस्ट्रेलियाको वर्तमान कार्यसमितिका सचिव पनि हुन्। जुलाई २६ मा अष्ट्रेलियामा एनआरएनए निर्वाचन हुँदैछ ।


तपाइँको प्रतिक्रीया