एडिलेड — नेपाली सिनेमाको ऐतिहासिक सफलताको कथा बोकेको फिल्म ‘अञ्जिला’ अब एडिलेडको ठूलो पर्दामा प्रर्दशन हुने भएको छ। नेपाल महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो फिल्म जुलाई ३०, २०२५ का दिन एडिलेडस्थित द रिगल थियटरमा प्रदर्शन गरिने आयोजकले जनाएका छन्।
फिल्म ‘अञ्जिला’ नेपाली सिनेमामा पहिलोपटक एकजना वास्तविक महिला खेलाडीले आफैँलाई पर्दामा अभिनय गरेको ऐतिहासिक बायोपिक हो। नेपाली महिला फुटबलको संघर्ष, सपना, साहस र राष्ट्रिय गौरवलाई पर्दामा उतारिएको यस फिल्मले नेपालभित्र मात्र नभई विदेशमा समेत चर्चा बटुल्न सफल भएको छ। झन् गौरवको कुरा त के भने, एडिलेडको यस विशेष कार्यक्रममा फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ पनि उपस्थित हुँदैछन्। नेपाली सिनेमाप्रेमी समुदायलाई सशक्त कथा र जीवन्त अभिनयको माध्यमबाट एकत्रित गराउने यो दुर्लभ अवसर हो।

मिलन चाम्सको निर्देशनमा बनेको फिल्ममा अञ्जिला सुब्बासँगै दयाहाङ राई, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ र सुनील थापाजस्ता चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मले एक जना युवतीले फुटबलप्रतिको मोह, सामाजिक चुनौती र राष्ट्रिय पहिचानको खोजीलाई कसरी जितमा बदलिन् भन्ने विषयलाई प्रभावशाली ढंगले प्रस्तुत गर्छ। नेपालभर ४५ वटा सिनेमा घरमा लगातार ५१ दिन प्रदर्शनमा बसेको र सातवटा मुख्य सहरका हलहरूमा सय दिनभन्दा बढी चलेको ‘अञ्जिला’ हालसम्मकै सबैभन्दा बढी कमाइ गर्ने नेपाली बायोपिक बन्न सफल भएको छ। यसले नेपाली फिल्म उद्योगमा नयाँ उचाइको उदाहरण प्रस्तुत गर्दै खेल र चलचित्रबीचको सहकार्यलाई एक सूत्रमा बाँधेको छ।
एडिलेडमा हुने यो फिल्म प्रदर्शन कार्यक्रम J&B Events and Entertainment ले आयोजना गरेको हो, आयोजकहरूका अनुसार यो कार्यक्रम केवल फिल्म हेर्ने मात्र नभई, निर्माता स्वयंलाई स्वागत गर्ने र नेपाली समुदायलाई एकैसाथ गौरवको अनुभूति गराउने अवसर पनि हो। फिल्म हेर्न इच्छुक दर्शकहरूले https://imticketing.com/…/anjila-inspired-by-a-true-story मा क्लिक गरेर वा प्रचार सामग्रीमा समावेश गरिएको QR कोड स्क्यान गरी टिकट प्राप्त गर्न सक्नेछन्। नेपाली खेल र सिनेमाको अन्तरसम्बन्धलाई उजागर गर्ने यो प्रेरणादायी चलचित्र हेर्न र यसका निर्माता संगै अनुभव साट्न एडिलेडवासी सम्पूर्ण नेपाली समुदायलाई आयोजकले उपस्थितिका लागि आग्रह गरेका छन्।
तपाइँको प्रतिक्रीया