२०८२ माघ १७ शुक्रबार

एनआरएनए अष्ट्रेलिया ICC निर्वाचन २०२५: विष्णु प्रसाद तिवारी सर्वाधिक मतसहित विजयी

  • admin २०८२ श्रावाण १४ मङ्गलबार

एडिलेड,अष्ट्रेलिया- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सन् २०२५ का लागि सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको निर्वाचनबाट आठ जना उम्मेदवार विजयी भएका छन्। निर्वाचन परिणामअनुसार, अष्ट्रेलियाभरिबाट सर्वाधिक ७५१७ मत प्राप्त गर्दै विष्णु प्रसाद तिवारी शीर्ष स्थानमा विजयी भएका छन्। तिवारीको यो जित प्रवासी नेपाली समुदायबीचको व्यापक विश्वास र समर्थन मानिएको छ।

‘ICC Members भएको मतदानमा अष्ट्रेलियाका आठै राज्य र टेरिटोरी — वेस्टर्न अष्ट्रेलिया (WA), साउथ अष्ट्रेलिया (SA), नर्दन टेरिटोरी (NT), क्विन्सल्याण्ड (QLD), टास्मानिया (TAS), भिक्टोरिया (VIC), न्यू साउथ वेल्स (NSW) र ACT — बाट उल्लेख्य सहभागिता रहेको थियो। प्रत्येक मतदाताले आठ उम्मेदवारसम्म छान्न पाउने व्यवस्था रहेको यस प्रणालीमा उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो।

विष्णु प्रसाद तिवारीले सबै राज्यहरूमा राम्रो समर्थन पाएका छन्, जसमा VIC (११५८), NSW (१२३२), QLD (१२१०), र ACT (८८३) बाट उनले सर्वाधिक मत प्राप्त गरे। यसले उनको लोकप्रियता केवल क्षेत्रीय सीमामा सिमित नभई अष्ट्रेलियाभर नै रहेको स्पष्ट संकेत गर्दछ।

उनका अतिरिक्त साइवल न्यौपाने (७१७१), दिपक बस्नेत (६९३५), सुसिल पोखरेल (६९७४), दिपक अधिकारी (६६११), निराजन पोखरेल (६४५८), हरिकृष्ण अधिकारी (६३४०), र राजेश केसी (६२१७) पनि निर्वाचित आठ उम्मेदवारमा परेका छन्। यी सबै उम्मेदवारहरूले सात हजार आसपास वा सोभन्दा नजिक मत प्राप्त गर्दै मतदाताको स्पष्ट समर्थन प्राप्त गरेका छन्।

निर्वाचनमा “None of the above” विकल्पमा पनि १२५९ मत परेको देखिन्छ, जसले यो प्रक्रियामा मतदाताको विवेकपूर्ण निर्णय क्षमताको अभिव्यक्ति दर्शाएको छ। यसले एनआरएनए निर्वाचन प्रणालीलाई अझ खुला र उत्तरदायी बनाउने संकेत पनि दिन्छ।

निर्वाचित सबै सदस्यहरू अब एनआरएनएको आगामी कार्यकालमा अष्ट्रेलियास्थित नेपाली समुदायको हित, पहिचान, सहभागिता र संस्थागत सुदृढीकरणको पक्षमा काम गर्ने अपेक्षा गरिएको छ। विष्णु प्रसाद तिवारी जस्तो उच्च मतसहित विजयी उम्मेदवारको उपस्थिति संस्थाको विश्वसनीयता र नेतृत्व क्षमतामा थप बल पुग्ने विश्वास गरिएको छ।

प्रवासी नेपालीहरूबीच साझा उद्देश्य, एकता र संस्थागत मूल्यको निरन्तरतामा आधारित यो निर्वाचनले एनआरएनए अष्ट्रेलियाको आगामी यात्रा कस्तो हुने हो भन्ने स्पष्ट संकेत दिएको छ। निर्वाचनको सफल समापनसँगै अब सम्पूर्ण ध्यान संस्था सुदृढीकरण र नेपाली समुदायको हितमा केन्द्रित हुने अपेक्षा गरिएको छ।