२०८२ कातिर्क ३ आइतबार

श्रीकृष्ण जन्माष्टमी २०२५ एडिलेडमा भव्य रूपमा मनाइने

  • admin २०८२ श्रावाण १५ बुधबार

एडिलेड- नेपाली धर्म, संस्कृति र आस्थालाई विदेशमा पनि जीवित राख्दै, नेपाली भजन किर्तन समूह एडिलेडद्वारा श्रीकृष्ण जन्माष्टमी २०२५ को पावन अवसरमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ।

कार्यक्रम १६ अगष्ट २०२५, Cosgrove Hall, Clovelly Park मा शनिवारका दिन भव्य रूपमा सम्पन्न गरिने तयारी रहेको संस्थाका अध्यक्ष खगेन्द्र सापकोटाले जानकारी दिनुभयो। यस वर्षको कार्यक्रमलाई भजन, प्रवचन, पूजा, आरती र सांस्कृतिक प्रस्तुतिमार्फत अझ जीवन्त र आत्मिक बनाउने योजना रहेको छ।

कार्यक्रमको मुख्य उद्देश्य भगवान श्रीकृष्णको दिव्य उपदेशलाई आत्मसात गर्दै नेपाली समुदायमा धार्मिक एकता, आत्मिक शुद्धता र सांस्कृतिक संरक्षणलाई प्रवर्धन गर्नु रहेको छ। विदेशमा जन्मिएका वा हुर्किंदै गरेका नेपाली बालबालिका तथा युवापुस्तालाई सनातन धर्मको मूल भावना, संस्कार र परम्परासँग जोड्ने यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ।

अध्यक्ष सापकोटाले भन्नुभयो, “यो कार्यक्रमले विशेष गरी हाम्रो नयाँ पुस्तालाई सनातन धर्म र संस्कृतिसँग जोड्ने काम गर्छ, र सबैलाई नेपालमै भएको जस्तो पवित्र र सांस्कृतिक माहोल प्रदान गर्दछ।”

कार्यक्रममा सहभागीहरूलाई पारम्परिक भजन, गीता प्रवचन, सांस्कृतिक प्रस्तुति, समूहगत आरती, तथा प्रसाद वितरण समेत गरिनेछ। यसले समुदायभित्रको आस्था, समर्पण र एकतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम संयोजनमा सीमा सापकोटा र उपसंयोजक इन्दु भट्टराई रहनुभएको छ। तयारी समितिले कार्यक्रमलाई सभ्य, भव्य र भक्तिपूर्ण बनाउन सबै आवश्यक तयारी सुरु गरिसकेको जानकारी दिएको छ।

नेपाली भजन किर्तन समूह एडिलेड सन् २०१७ मा स्थापना गरिएको दक्षिण अष्ट्रेलियाको एक अग्रणी धार्मिक र सांस्कृतिक संस्था हो। संस्थाले सनातन धर्मको प्रचार-प्रसार, भजन किर्तन, पूजा-अर्चना, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमहरू गर्दै आइरहेको छ। यसको मूल उद्देश्य भनेकै प्रवासमा रहेका नेपालीहरूलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक रूपमा जोड्नु, समुदायमा एकता बढाउनु, र नयाँ पुस्तामा मौलिक संस्कार र परम्परा हस्तान्तरण गर्नु हो।

कार्यक्रमका आयोजकहरूले सम्पूर्ण नेपाली तथा हिन्दू धर्मावलम्बीहरूलाई यस पवित्र अवसरमा सहभागी भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गरेका छन्। यस जन्माष्टमी कार्यक्रममार्फत प्रवासी भूमिमा पनि धर्म, आस्था र नेपालीपनको अनुपम संगम देखिने विश्वास लिइएको छ।