२०८२ कातिर्क ३ आइतबार

सिड्नी अर्बनमा तीजको रमझम: रामजी खाँड र शान्तीरानी परियारको विशेष प्रस्तुति

  • admin २०८२ श्रावाण १५ बुधबार

सिड्नी,अष्ट्रेलिया / अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका लागि यस वर्षको तीज विशेष हुने भएको छ। प्रवासमा रहेका नेपाली महिलालाई आफ्नो चाडपर्व, संस्कृति र मौलिक परम्पराबाट अझ गहिरो रूपमा जोड्ने उद्देश्यले अर्बन सोसाइटी द्वारा भदौ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्यालेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

सांगीतिक साँझमा चर्चित लोकगायक रामजी खाँड र लोकगायिका शान्तीरानी परियार ले आफ्ना लोकप्रिय तीज गीतहरू प्रस्तुत गर्दै दर्शकलाई तीजको मौलिक स्वादमा रमाउने वातावरण दिनेछन्। तीजका लोकधुन, समसामयिक सन्देश र भाबुक प्रस्तुति दिने यी कलाकारहरूका लागि नेपाली महिलाहरू विशेष उत्साहित देखिएका छन्।

अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठका अनुसार, प्रवासमा रहेका नेपालीहरूले चाडपर्वसँगको सम्बन्ध अलि कमजोर हुँदै गएको अवस्थालाई सम्बोधन गर्न यस्ता कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। उहाँले भन्नुभयो,“घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो संस्कृति भुल्ने सम्भावना हुन्छ। यस्ता कार्यक्रमले नेपालीपनको भावना जगाउने मात्र होइन, नयाँ पुस्तालाई पनि संस्कृति सँगै हुर्किन प्रेरित गर्छ।”

कार्यक्रममा नेपाली भेषभूषा, साँस्कृतिक नृत्य, भजन, संगीत र आपसी भेटघाटमार्फत सहभागीहरूले नेपालमै भएको अनुभूति गर्ने अवसर पाउनेछन्। तीजको पारंपरिक र आधुनिक प्रस्तुति सँगै रमाइलो वातावरण निर्माण गर्न कार्यक्रम संयोजक टोलिले विविध पक्षमा तयारी अगाडि बढाइसकेको छ।

सिड्नी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर मात्र होइन, नेपालीहरूकै एक प्रमुख बसोबास क्षेत्रका रूपमा पनि चिनिन्छ। विद्यार्थी, पेशाकर्मी, व्यवसायी र स्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको संख्याले गर्दा सिड्नी प्रवासी नेपालीहरूको “संस्कृतिक केन्द्र” जस्तै बनेको छ। यहाँ वर्षैपिच्छे आयोजना हुने दशैं, तिहार, तीज, माघे संक्रान्ति लगायतका चाडपर्वहरूले नेपाली संस्कारलाई बलियो रूपमा समातेका छन्।

साँस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा यस्ता चाडपर्वले महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। सिड्नीमा रहेका नेपाली संघसंस्था, रेस्टुरेन्ट, क्लब, समूह र मन्दिरहरूको सहभागिताले चाडपर्वहरूलाई अझ व्यवस्थित र प्रभावशाली बनाइरहेका छन्।

कार्यक्रममा सहभागी हुन चाहनेका लागि टिकट व्यवस्थापन यसप्रकार गरिएको छ:
• अनलाइन टिकट: ५५ डलर
• स्थलमा खरिद: ५९ डलर
• विशेष टिकट (सीमित सिटका लागि): २५ डलर

कार्यक्रमको सम्पूर्ण व्यवस्था अर्बन सोसाइटीको संयोजनमा भइरहेको छ र आयोजकहरूले सम्पूर्ण सिड्नीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो तीजको उल्लासपूर्ण साँझमा सहभागी भई मौलिक संस्कारलाई जगेर्ना गर्न आह्वान गरेका छन्।नेपालभन्दा टाढा भए पनि नेपालीपनको न्यानो अनुभूति दिलाउने यस्तो कार्यक्रमले प्रवासमा नेपाली संस्कृति र एकताको गहिरो सन्देश फैलाउनेछ भन्ने विश्वास गरिएको छ।