२०८२ माघ २ बिहीबार

नेपालका व्यवसायीहरू विश्व मञ्चमा: एडिलेडमा वर्ल्ड हिन्दू इकोनोमिक फोरमको भव्य उद्घाटन

  • admin २०८२ श्रावाण १८ शनिवार

एडिलेड, अष्ट्रेलिया — ‘समृद्धि र दिगोपनका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मूल नारासहित विश्व हिन्दू इकोनोमिक फोरम (World Hindu Economic Forum – WHEF) 2025 को अन्तर्राष्ट्रिय सम्मेलन अष्ट्रेलियाको एडिलेड शहरमा सुरु भएको छ। अगस्ट २ तारिखदेखि सुरु भएको यो दुई दिने सम्मेलन एडिलेड कन्वेन्सन सेन्टरमा भइरहेको छ र भोलि (अगस्ट ३) सम्म चल्नेछ।

सम्मेलनमा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक तथा पर्यटन मन्त्री जोवेटीसन सहित मन्त्री तथा ससद सदस्यहरुको समेत उपस्थिति रहेको छ। विश्वका १५ भन्दा बढी देशहरूबाट आएका उद्योगपति, व्यवसायी, लगानीकर्ता, नीति निर्माता र उद्यमशील अगुवाहरूको सहभागिता रहेको यस सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजिल्यान्ड, सिंगापुर, मलेसिया, फिजी, दक्षिण अफ्रिका र अष्ट्रेलियालगायत देशका प्रतिनिधिहरू सहभागी छन्, भने व्यवसायिक एक्सपो स्टलहरू राखिएका छन्।

सम्मेलनमा नेपालबाट उघोग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशी, हिन्दु इक्नोमिक फोरम नेपाल अध्यक्ष प्रदिप मान वैद्य लगायत १० जना नेपाली व्यवसायीहरुको सहभागिता रहेको छ । भने अष्ट्रेलियामा रहेका सामाजिक अगुवाहरु सहित व्यवसायीहरुको सहभागिता रहेको छ ।। उनीहरूले नेपालभित्रका लगानी सम्भावना, स्टार्टअपको बढ्दो अवस्था, प्रविधिको प्रयोग र युवा उद्यमशीलताको नवीनतम प्रयासबारे सम्मेलनमा धारणा राख्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्। नेपाल च्याप्टरमार्फत WHEF को लामो समयदेखिको संलग्नताले गर्दा यसपटकको सम्मेलनमा नेपालको उपस्थिति अझ औपचारिक र सक्रिय रहेको देखिएको छ।

आज उद्घाटन सत्रमा अष्ट्रेलियाली सरकारका उच्च प्रतिनिधि, स्थानीय व्यापारिक संघ, हिन्दू समुदायका अगुवा तथा उद्योग क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। उद्घाटन भाषणहरूमा हिन्दू उद्यमशीलता संस्कार, विश्वव्यापी व्यापारिक संयोजन, प्रविधि–नवप्रवर्तनमा हिन्दू समुदायको योगदान र भविष्यमा सम्भावित सहकार्यहरूबारे गहन प्रस्तुति दिइयो।

कार्यक्रमका विभिन्न सत्रहरूमा प्रविधि, शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य सेवा, कृषि, वित्त तथा रियल इस्टेटलगायत विविध विषयमा छलफल हुँदैछ। सहभागीहरूले आफ्नो देश तथा संस्थाको अनुभव, चुनौती र सफलताहरू प्रस्तुत गर्नेछन्। यसबाट न केवल सूचना आदानप्रदान हुने विश्वास गरिएको छ, बरु आपसी सहयोग र साझेदारीका ढोका पनि खुल्ने अपेक्षा गरिएको छ।

नेपालबाट सहभागी प्रतिनिधिहरूले आफ्नो प्रस्तुति मार्फत नेपालका नविन लगानी अवसर, पर्यटन र शिक्षामा नवप्रवर्तन, वैदेशिक लगानीका आवश्यकता र प्रवासी नेपाली समुदायको भूमिकामाथि विशेष जोड दिने तयारी गरेका छन्। अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरूका लागि समेत यो सम्मेलन आपसी नेटवर्क विस्तार र भविष्यका सम्भावनाहरू पहिचान गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

विश्व हिन्दू इकोनोमिक फोरम (WHEF) को स्थापना सन् २०१२ मा भएको हो। विश्वभर छरिएर रहेका हिन्दू मूलका उद्यमीहरूबीच आर्थिक सहकार्य, लगानी प्रवाह, प्रविधि हस्तान्तरण र उद्यमशील सोचको प्रवर्द्धन गर्नु यस फोरमको प्रमुख उद्देश्य हो। हरेक वर्ष फरक–फरक देशमा आयोजना गरिँदै आएको यो सम्मेलन यसपटक पहिलोपटक दक्षिण गोलार्धमा आयोजना गरिएको हो, जसले यसको भौगोलिक विस्तार र अन्तर्राष्ट्रियकरणलाई झनै मजबुत बनाएको छ।

एडिलेडमा सम्पन्न भइरहेको WHEF 2025 को समापन समारोह भोलि विविध प्यानल, अन्तर्क्रिया सत्र र सांस्कृतिक प्रस्तुतिहरूका साथ सम्पन्न हुने तयारीमा छ। आयोजकहरूका अनुसार सम्मेलनले हिन्दू उद्यमशीलता र आर्थिक सोचलाई वैश्विक तहमा सशक्त बनाउने दीर्घकालीन प्रभाव पार्नेछ।