२०८२ कातिर्क ३ आइतबार

नेपाल–अष्ट्रेलिया कूटनीतिक सम्बन्धको ६५औं वर्षमा ऊर्जा सहकार्यबारे छलफल

  • admin २०८२ श्रावाण २८ मङ्गलबार

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
मन्त्री खड्काले नेपाल–अष्ट्रेलिया सम्बन्ध ६५औं वर्षमा प्रवेश गरेको स्मरण गर्दै अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गरे। उनले जलविद्युत, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली, जलवायु–अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा र प्रविधिमा सहकार्यको सम्भावना औंल्याउँदै हरित ऊर्जा रूपान्तरणमा अष्ट्रेलियाली लगानी र प्रविधि स्वागत गर्ने प्रतिबद्धता जनाए।

राजदूत जोनस्टनले ८–१० सेप्टेम्बर २०२५ मा पेरिसमा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन मन्त्रीलाई निमन्त्रणा दिए। मन्त्री खड्काले उक्त सम्मेलनले ऊर्जा मिश्रण र पम्प्ड स्टोरेज परियोजनामा अवसर खोल्ने विश्वास व्यक्त गरे।

भेटमा ‘ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१’ का बारेमा पनि छलफल भयो। मन्त्रीले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य, जसमा १३,५०० मेगावाट आन्तरिक खपत, १०,००० मेगावाट भारतमा र ५,००० मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी दिए।

राजदूतले वातावरणीय सन्तुलनसहितको जलविद्युत विकास नेपालका लागि लाभदायी हुने विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको साझेदारी रहने आश्वासन दिए। दुवै पक्षले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा सहकार्य सुदृढ गर्ने र निरन्तर संवादलाई फलदायी बनाउने प्रतिबद्धता जनाए।