२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा आठौँ पटक येँयाः पुन्ही – इन्द्र जात्रा’ भव्य रूपमा मनाइने

  • admin २०८२ श्रावाण ३० बिहीबार

एडिलेड, अष्ट्रेलिया – नेवार समुदायको ऐतिहासिक र सांस्कृतिक पर्व येँयाः पुन्ही – इन्द्र जात्रा’ आगामी सेप्टेम्बर ७, आइतबार एडिलेडमा भव्य रूपमा मनाइने भएको छ। गुठी साउथ अष्ट्रेलियाको आयोजनामा हुने यो कार्यक्रम कसग्रोभ हल, Clovelly Park मा दिउँसो २:३० बजेबाट सुरु हुनेछ। प्रवेश निःशुल्क रहनेछ।

गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष गौरव राजकर्णिकार का अनुसार यस वर्षको कार्यक्रममा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी, साथै कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्ध नृत्य, चार्य नृत्य र मञ्जुश्री नृत्य प्रस्तुत गरिनेछ। गुठी साउथ अष्ट्रेलिया सन् २०१५ मा स्थापित भई नेवारी सांस्कृतिक सम्पदा, परम्परा, खाना, संगीत, कला, नृत्य र भाषाको संरक्षण र प्रवर्द्धन निरन्तर रुपमा क्रियाशिल रहेको छ । इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ। यस वर्षको आयोजनासँगै यो पर्व यहाँ आठौँ पटक मनाउन लागिएको हो।

किम्बदन्ती अनुसार, स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए। अनुमति बिना फूल टिप्न खोज्दा मालीले उनलाई समाते र सार्वजनिक रूपमा लिंगोमा बाँधेर राखियो। छोरा खोज्दै ऐरावत हात्ती र पछि बहुलाको भेषमा आमा वसुन्धरा काठमाडौं आइपुगिन्। काठमाडौंवासीको मागअनुसार धानबाली राम्रो हुने र मरेकालाई स्वर्ग लैजाने वाचा गरेपछि इन्द्रलाई छुटाइयो। त्यसपछि थानकोटको इन्द्रदहमा स्नान गरी आमा–छोरा स्वर्ग फर्किएका थिए भन्ने विश्वास छ। यसै सम्झनामा प्रत्येक वर्ष इन्द्र जात्रा मनाइन्छ।

गुठी साउथ अष्ट्रेलियाका सचिव सजिन प्रधानाङ्गले नेपालका अनमोल प्राचीन सम्पत्तिको रूपमा रहेका सांस्कृतिक सम्पदाहरूलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियाबासिहरु बिच चिनाउने प्रयास स्वरूप इन्द्रजात्रा कार्यक्रमको आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोस्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउनेमा गुठी साउथ अष्ट्रेलिया विश्वस्त रहेको समेत बताए ।

प्रधानाङ्गले यो कार्यक्रममा नेपाली सहित गैर्ह नेपालीहरु पनि आउने भएकाले सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन अनुरोध समेत गरेका छन्।