२०८२ कातिर्क ३ आइतबार

नेपालका अनाथ बालबालिकाको जीवन उज्यालो बनाउँदै आएको SCAI को २०औँ वार्षिकोत्सव एडिलेडमा भव्य रूपमा सम्पन्न

  • admin २०८२ श्रावाण ३० बिहीबार

एडिलेड, अष्ट्रेलिया — नेपाली बालबालिकाको जीवनमा आशा र अवसरको नयाँ द्वार खोल्ने लक्ष्यसहित २० वर्षअघि सुरु भएको सनराइज चिल्ड्रेन एसोसिएसन इनकर्पोरेटेड (SCAI) ले आफ्नो २०औँ वार्षिकोत्सव हालै एडिलेडमा भव्य रूपमा सम्पन्न गरेको छ।

सन् २००५ मा अष्ट्रेलियामा स्थापना भई २००७ मा नेपालमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (INGO) का रूपमा दर्ता भएको SCAI को यात्रा तीन अष्ट्रेलियाली महिलाहरू — Emma Taylor OAM, Michaela Killips, र Sarah Kemp — को साझा प्रतिबद्धता र मानवीय दृष्टिकोणबाट सुरु भएको हो। सन् २००४ मा काठमाडौंको एउटा अनाथालयमा स्वयंसेवकको रूपमा कार्यरत रहँदा विपन्न, परित्यक्त र जोखिममा रहेका बालबालिकाको अवस्थाले ती महिलाहरूलाई गहिरो रूपमा छोयो। सोही अनुभवबाट प्रेरित भई २००५ मा ‘सनराइज अर्फनाज’ को स्थापना गरियो, जसले अनाथ तथा घरविहीन बालबालिकालाई सुरक्षित, प्रेमपूर्ण र स्नेहयुक्त आश्रय प्रदान गर्न थाल्यो।

स्थापना भएदेखि नै SCAI ले आफ्नो कार्यक्षेत्रलाई केवल आश्रयपुर्‍याउने सीमाभित्र राखेन। यसले परिवारबाट अलग हुने जोखिममा रहेका बालबालिकालाई शिक्षा छात्रवृत्ति, पारिवारिक पुनर्मिलन, जीविकोपार्जन सीप विकास र पारिवारिक संरक्षण जस्ता कार्यक्रममार्फत दीर्घकालीन समाधानमा जोड दियो। नेपालका ग्रामीण तथा सीमान्तकृत समुदायमा शिक्षा र सीपको पहुँच बढाउँदै बालबालिकालाई आफ्नै परिवार र समुदायमा सुरक्षित राख्ने प्रयास यसको मूल उद्देश्य रह्यो।SCAI का कार्यक्रमहरू तीन मुख्य आधारमा अडिएका छन् — जोखिम न्यूनीकरण, सुरक्षित पुनर्मिलन, र अस्थायी आवासीय संरक्षण। “Sunrise Home” मार्फत असुरक्षित अवस्थामा रहेका बालबालिकालाई अस्थायी आश्रय दिइन्छ, जबकि पुनर्मिलन कार्यक्रमले परित्यक्त, बेपत्ता वा ट्राफिकिङको सिकार भएका बालबालिकालाई आफ्नो परिवारमा सुरक्षित रूपमा फर्काउँछ। यी कार्यक्रमले हालसम्म हजारौँ बालबालिकाको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याइसकेका छन्। यस संस्थाले नेपाल सरकारसँग तीनपटक पाँच–वर्षे परियोजना सम्झौता गर्दै कानूनी र पारदर्शी ढंगले काम गर्दै आएको छ।

एडिलेडमा हालै सम्पन्न २०औँ वार्षिकोत्सवको उद्घाटन SCAI की सह–संस्थापक Emma Taylor OAM र दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले संयुक्त रूपमा परम्परागत दियो बालेर गर्नुभयो। कार्यक्रममा अष्ट्रेलियाली तथा गैर–नेपाली सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो, जसले यस संस्थाप्रतिको अन्तर्राष्ट्रिय समर्थनलाई झल्कायो। कार्यक्रममा SCAI का विगतका गतिविधिहरू र उपलब्धिहरूको प्रस्तुति दिइयो, जसमा शिक्षा छात्रवृत्ति पाएका बालबालिकाको प्रगति, पुनर्मिलन भएका परिवारका अनुभव, र जीविकोपार्जन सीप पाएर आत्मनिर्भर बनेका अभिभावकहरूको कथाहरू समावेश थिए। सहभागीहरूको चासो र सहभागिता बढाउन नेपाली हस्तकला सामग्रीको सानो बजार पनि आयोजना गरिएको थियो, जसले नेपालप्रतिको सांस्कृतिक पहिचानलाई झन् उजागर गर्‍यो।

कार्यक्रममा सम्बोधन गर्दै Emma Taylor OAM ले विगत दुई दशकमा साथ दिइरहेका अष्ट्रेलिया र नेपालका समर्थक, दातृ तथा स्वयंसेवकप्रति आभार प्रकट गरिन्। उनले भनिन् — “हामी विगतका उपलब्धिमा गर्व गर्छौं, तर हाम्रो यात्रा अझै जारी छ। विपन्न र जोखिममा रहेका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न हामी अझै पनि उही उत्साह र प्रतिबद्धतासाथ अघि बढ्नेछौं।”

२० वर्षको यात्रामा SCAI ले केवल सहायता मात्र दिएन, यसले हजारौँ बालबालिकाको जीवनमा शिक्षा, सुरक्षा र आत्मविश्वासको जग बसालेको छ। SCAI का हालसम्मका कार्यक्रमबारे थप जानकारीका लागि www.scai.org.au मा हेर्न सक्नुहुनेछ।