२०८२ कातिर्क ३ आइतबार

पश्चिमी अष्ट्रेलियामा तीजको रंग: एनआरएनए डब्लुए र नारी निकुञ्जद्वारा भव्य सांगीतिक उत्सव

  • admin २०८२ श्रावाण ३० बिहीबार

वेस्टर्न,अष्ट्रेलिया- पश्चिमी अष्ट्रेलियाको विलेटनमा आगामी आइतबार, १७ अगस्ट २०२५ का दिन, नेपाली समुदायले हरितालिका तीजको भव्य उत्सव विशेष सांगीतिक र सांस्कृतिक कार्यक्रमसहित मनाउने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया र महिला फोरम नारी निकुञ्जको आयोजनामा तथा एभरेष्ट ग्लोबल एजुकेशन/भिसाको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यो कार्यक्रम अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि आफ्नो संस्कृति, परम्परा र आपसी एकताको भावना बलियो बनाउने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।

साँझ ४:३० बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली संगीतका लोकप्रिय कलाकारहरूको उपस्थितिले माहोल झन् रौनकिलो बनाउनेछ। चर्चित गायक रामजी खाँड, लोकदोहोरीका बादशाह मिलन लामा, लोकप्रिय गायिका कमला रेग्मी तथा चर्चित गायिका शान्ता रानी परियारले आफ्ना लोकप्रिय गीतहरूको प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति, तीजको नृत्य, फेसन शो र विविध सांस्कृतिक कार्यक्रमहरू पनि रहनेछन्, जसले सबै उमेरका सहभागीलाई रमाइलो वातावरण प्रदान गर्नेछ।

कार्यक्रममा सहभागीले फङ्की मोमोलगायत विभिन्न स्वादिष्ट नेपाली परिकारको स्वाद चाख्न पाउनेछन्। परिवारमै लक्षित गरिएको यो सांस्कृतिक उत्सवमा १२ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ भने अन्यका लागि प्रवेश शुल्क $२० निर्धारण गरिएको छ।विलेटनस्थित 12 Whyalla Street, Willetton, 6155 WA मा आयोजना हुने यस कार्यक्रममा आयोजकहरूले सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई तीजको उल्लास र नेपाली संस्कृतिको सुगन्ध साझा गर्न हार्दिक आमन्त्रण गरेका छन्। उक्त कार्यक्रम सम्पन्न गर्न थुप्रै व्यवसायिक संघसंस्थाहरुले सहयोग गरेका छन्।

यो उत्सव केवल नृत्य, गीत र भोज मात्र नभई, विदेशमा रहँदा पनि आफ्नै संस्कृति र परम्परासँगको सम्बन्धलाई सुदृढ पार्ने, नयाँ पुस्तामा नेपाली पहिचानको महत्त्व जागृत गराउने र समुदायबीचको आपसी एकतालाई अझ मजबुत बनाउने एउटा सशक्त माध्यम बन्नेछ।आयोजक संस्थाले नेपाली भाषी सबैलाई उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध समेत गरेका छन् ।