२०८२ कातिर्क ३ आइतबार

अगस्ट २२ देखि अष्ट्रेलियामा ‘माग्ने राजा’ प्रदर्शन, दर्शकको उच्च मागसँगै शो थपिँदै

  • admin २०८२ भाद्र २ सोमबार

अष्ट्रेलिया- नेपाली फिल्म ‘माग्ने राजा’ अगस्ट २२ तारिखदेखि अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शनमा आउने भएको छ। अष्ट्रेलियाको वितरण कम्पनी थ्रीकेजी इभेन्टका निर्देशक खुम घलेले दर्शकहरूको माग बढ्दो देखिएको कारण अतिरिक्त शोहरु थपिरहेको जानकारी दिएका छन्।

वितरण कम्पनी थ्रीकेजी इभेन्टका निर्देशक खुम घलेले उच्च हाइप र उत्साहजनक प्रतिक्रिया प्राप्त भएकोले अष्ट्रेलियाका सिनेमा हलहरूमा माग बढेको बताएका छन्। कम्पनीले दर्शकलाई आफ्नो नजिकको हलको नाम पठाउन आग्रह गरेको छ, जसअनुसार विभिन्न शहरमा शो थपिँदै जाने उल्लेख गरिएको छ।

नेपालमै पनि यस फिल्मको चर्चा चुलिएको छ। भदौ ६ गतेदेखि नेपालमा रिलिज हुने यो फिल्मले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ। ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन्। फिल्ममा चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन्। उनीसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई (तक्मा बजे), रविन्द्र झा, विनोद न्यौपाने लगायतका कलाकारको दमदार अभिनय देख्न पाइनेछ। हल्का–फुल्का हास्य र मनोरञ्जनलाई प्रस्तुत गर्दै समाजका विभिन्न आयामलाई छेड्ने गरी कथा तयार गरिएको निर्माण पक्षले जनाएको छ।।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई आफ्नै भाषा र संस्कृतिसँग जोड्ने माध्यमका रूपमा नेपाली फिल्मलाई निकै मन पराइन्छ। पछिल्ला वर्षमा अष्ट्रेलियामा नेपाली फिल्मको व्यापारिक सफलता उल्लेख्य बन्दै गएको छ। ‘माग्ने राजा’ पनि त्यही श्रृंखलाको अर्को बलियो उदाहरण हुने अपेक्षा गरिएको छ।

नेपालमा एकैसाथ अष्ट्रेलियामा प्रदर्शनमा आउन लागेको ‘माग्ने राजा’ ले नेपाली समुदायलाई विदेशमा बसेर पनि आफ्नै कला–संस्कृतिसँग नजिक रहन सक्ने वातावरण सिर्जना गर्नेछ। दर्शकको उत्साह र शोको बढ्दो मागलाई हेर्दा, यो फिल्मले अष्ट्रेलियामा उल्लेखनीय सफलता हासिल गर्ने प्रबल सम्भावना रहेको देखिन्छ।