अस्ट्रेलिया – अस्ट्रेलियामा आप्रवासीविरुद्ध हुने प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले कडा आपत्ति जनाएको छ। यही ३१ अगस्टमा अष्ट्रेलियाका प्रमुख शहरहरूमा ‘March for Australia’ नामक प्रदर्शन हुने भएको छ, जसलाई आप्रवासीविरोधी धारणा फैलाउने कार्यक्रमका रूपमा लिइएको छ।
एनआरएनए अष्ट्रेलियाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– “यो प्रदर्शनहरूले आप्रवासीविरोधी भावना र सामाजिक विभाजनलाई प्रोत्साहन दिने भएकाले अष्ट्रेलियाको बहुसांस्कृतिकता, समावेशिता र सामाजिक सद्भावका मूल्यहरूको विपरीत छ।”
संघले आप्रवासी समुदाय अष्ट्रेलियाको विविधता, आर्थिक विकास र सांस्कृतिक समृद्धिको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै, उनीहरूले अष्ट्रेलियाली समाजमा बोझ नभई योगदान पुर्याउँदै आएको तथ्यलाई स्मरण गराएको छ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले साथी टिभी सँग कुरा गर्दै भन्नुभयो, “आप्रवासीहरूले अष्ट्रेलियामा रोजगार, व्यवसाय, कर प्रणाली र सामाजिक जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्। त्यसैले आप्रवासीलाई नकारात्मक रूपमा चित्रण गर्नु अन्यायपूर्ण मात्र होइन, अष्ट्रेलियाको साझा मूल्यहरूको पनि अवमूल्यन हो।”उनले बहुसांस्कृतिक समाज अष्ट्रेलियाको पहिचान भएकाले यसलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध सचेत रहन सबैलाई आग्रह गरे।
एनआरएनए अष्ट्रेलियाले आप्रवासी समुदायबीच एकता, सद्भाव र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिँदै ‘March for Australia’ नामक प्रदर्शनबाट उत्पन्न हुने नकारात्मक प्रभावहरूबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।
अस्ट्रेलिया बहुसांस्कृतिक समाज भएको देश हो । यहाँको लगभग सबै जनसंख्या नै अन्त कतैबाट यहाँ बसाई सरेर आएका हुन्। थोरै संख्यामा मात्रै यहाँका आदिवासीहरु रहेका छन्।
तपाइँको प्रतिक्रीया