मेलबर्न, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (ANMC) भिक्टोरियालाई १२ हजार अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ। भिक्टोरियामा आयोजित विशेष कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अध्यक्ष तिलक पोखरेलसहितको एएनएमसी टिमलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
यो सहयोग भिक्टोरियामा रहेका एनआरएन सदस्यहरूको सदस्यता शुल्कबाट संकलित रकम तथा “प्रति सदस्य ५ डलर बहुसांस्कृतिक केन्द्रलाई” दिने नीतिअन्तर्गत गरिएको हो। कार्यक्रममा एनआरएनए पदाधिकारी, स्थानीय सामुदायिक अगुवा, भिक्टोरियाका लागि अवैतनिक वाणिज्यदूत निराजन गौली, एएनएमसी पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालको प्रतिबद्धता पूरा गर्दै बहुसांस्कृतिक केन्द्रलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए भने, एनआरएनए भिक्टोरियाका डेप्युटी कोअर्डिनेटर महादेव धानुकले यो नीतिगत सहयोग निरन्तर रहने बताएका थिए। अवैतनिक वाणिज्यदूत गौलीले सामुदायिक केन्द्रलाई गरिएको योगदान उल्लेखनीय भएको टिप्पणी गरे।
सो अवसरमा एएनएमसीका अध्यक्ष तिलक पोखरेलले सहयोगका लागि एनआरएनए अष्ट्रेलियाप्रति आभार व्यक्त गरेका थिए।
तपाइँको प्रतिक्रीया