२०८२ कातिर्क ३ आइतबार

ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरद्वारा अध्यात्मिक महोत्सवको तयारी पूरा

  • admin २०८२ भाद्र ८ आइतबार

सिड्नी, अष्ट्रेलिया – ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आगामी २९ अगस्टदेखि तीन दिनसम्म आयोजना गर्न लागेको सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा भएको छ। सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका पदाधिकारीहरूले हालसम्म ११ सय २५ जनाले कलश यात्रामा आफ्नो नाम दर्ता गरिसकेको जानकारी दिए।

महोत्सव मार्की होमको मुख्य प्रायोजनमा हुने बताइएको छ। आयोजकहरूले उत्साहजनक सहभागिताले सिड्नीवासी नेपाली परियोजनाप्रति दृढ संकल्पित रहेको पुष्टि भएको पनि बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै सेन्टरका अध्यक्ष विष्णु हमालले सिड्नी तथा वरिपरिका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको मालामा गाँस्न यो अभियान अघि बढाइएको बताए। उनले सेन्टरलाई “मिनी नेपाल”को रूपमा प्रबर्द्धन गरिएको र हाल जग्गा तथा प्रारम्भिक पूर्वाधार निर्माणका लागि करिब ५ मिलियन अष्ट्रेलियन डलर आवश्यक रहेको जानकारी दिए। अध्यक्ष हमालका अनुसार हाल सेन्टरमा ५ सय ७० जना सदस्य भइसकेका छन् र आगामी दिनमा ५ हजार सदस्य पुगेपछि जमिन किन्ने र दोस्रो चरणमा सरकारी अनुदानको पहल अघि बढाउने योजना रहेको छ।

कार्यक्रममा वाचन शिरोमणि दिनबन्धु पोखरेलले महोत्सवमा सबै नेपाली समुदायका सदस्यहरूलाई सहभागी हुन आह्वान गरेका छन्। उनले वैदिक गुरु र बौद्ध गुरुहरूको उपस्थितिमा तीन दिनसम्म चल्ने धार्मिक अनुष्ठानले सामाजिक मेलमिलाप, धार्मिक सहिष्णुता र एकताको संदेश दिने बताए।

पत्रकार सम्मेलनमा आयोजकहरूले महोत्सवमार्फत नेपाली समुदायभित्रको एकता, सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक चेतनाको प्रवर्द्धनमा बल पुर्‍याउने उद्देश्य रहेको बताए। उपस्थित पत्रकार तथा समुदायका प्रतिनिधिहरूले पनि यस पहलको सराहना गरेका थिए।

ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आगामी महोत्सवमार्फत सिड्नीका नेपालीहरूको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा नयाँ उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरेको छ।