पर्थ,अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अघिल्लो कार्यकालमै गरेको प्रतिवद्धताअनुसार अस्ट्रेलियाका विभिन्न राज्यहरूमा बहुसांस्कृतिक केन्द्र तथा समुदायिक गतिविधिलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिएको छ। यसै क्रममा, अगष्ट २३ तारिखका दिन एनआरएनए पश्चिम अष्ट्रेलियाले पर्थस्थित नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर लाई १२,००० अष्ट्रेलियन डलर को चेक हस्तान्तरण गरेको हो।
कार्यक्रममा एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले संस्थाको तर्फबाट चेक हस्तान्तरण गर्नुभयो भने, सो सहयोग नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर का अध्यक्ष राजेश बुढाथोकेले ग्रहण गर्नुभयो। कार्यक्रममा एनआरएनएका पदाधिकारी, स्थानीय समुदायका प्रतिनिधिहरू र समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
एनआरएनए अष्ट्रेलियाले २०२३–२०२५ कार्यकालमा निर्णय गर्दै प्रत्येक सदस्यता शुल्कबाट ५ डलर बहुसांस्कृतिक र समुदायिक केन्द्रको विकासका लागि छुट्याउने प्रतिवद्धता गरेको थियो। उक्त प्रतिबद्धतालाई कार्यान्वयन गर्दै पर्थमा यो सहयोग हस्तान्तरण गरिएको हो। सो अवसरमा संयोजक घिमिरेले भन्नुभयो, “एनआरएनए अष्ट्रेलियाको उद्देश्य केवल सदस्यता सङ्ख्या बढाउनु मात्र होइन, यसबाट प्राप्त हुने योगदानलाई समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने काममा खर्च गर्नु हो। पर्थको नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरले नेपाली मात्र नभई अन्य समुदायबीच पनि आपसी समझदारी र सद्भाव बढाउने महत्वपूर्ण भूमिका खेलेको छ।”
त्यस्तै, सहयोग ग्रहण गर्दै अध्यक्ष बुढाथोकेले एनआरएनए अष्ट्रेलियाको यो अभियानले समुदायलाई थप एकताबद्ध र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।
एनआरएनए पश्चिम अष्ट्रेलियाले यस अवसरमा नेपाली एशोसिएशन अफ वेस्टर्न अष्ट्रेलिया (NAWA Inc.) सहित विभिन्न समुदायिक संस्था, स्वयंसेवक, सदस्यहरू र सम्पूर्ण नेपाली समुदायप्रति निरन्तर सहयोग र माया देखाइरहेकोमा हार्दिक आभार व्यक्त गरेको छ। साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले यसअघि भिक्टोरियास्थित अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (ANMC) लाई समेत १२ हजार अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरिसकेको थियो।
तपाइँको प्रतिक्रीया