क्वीन्सल्याण्ड – अष्ट्रेलियाभरका नेपाली समुदायलाई एउटै मञ्चमा ल्याउँदै आएको फेडेरेसन अफ नेपालीज कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का) ले आफ्नो सातौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार ह्यामिल्टन टाउन हलमा सम्पन्न साधारणसभामा गत कार्यकालको समिक्षा गर्दै नयाँ नेतृत्वलाई पदहस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नयाँ कार्यसमितिलाई शपथग्रहण गराइयो भने आगामी दुई वर्षका लागि समुदायलाई सबल र एकीकृत बनाउनुपर्ने कदमहरूबारे विस्तृत छलफल पनि गरिएको थियो। साधारणसभामा अष्ट्रेलियाको संघीय संसदका सभामुख डिक मिल्टन, क्वीन्सल्याण्डकी बहुसांस्कृतिक मन्त्री फियोना सिम्पसन, सांसद चारिस मुल्लन, एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर, नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष टिकराम शर्मा लगायत अतिथिहरूको सहभागिता उल्लेखनीय थियो। उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिंदै फेन्काले निभाइरहेको भूमिकाको प्रशंसा गरेका थिए।
यसअघि सम्पन्न निर्वाचनबाट मधुसुदन पुडासैनी सर्वसम्मत रूपमा फेन्काको अध्यक्षमा निर्वाचित भएका थिए। साथै कपिल पाण्डे उपाध्यक्ष, भोला गिरी महासचिव, प्रकाश पौडेल सहमहासचिव, जीवन राना कोषाध्यक्ष, केदार रिजाल सहकोषाध्यक्ष, केशव शर्मा प्रवक्ता र सुरेन रेग्मी सहप्रवक्तामा निर्वाचित भएका हुन्। त्यसैगरी, विभिन्न राज्य संयोजकमा सुरज पौडेल (ACT), मुक्तिराम पोखरेल (NSW), पुष्कर कोइराला (SA), कमल भण्डारी (Tasmania), कृष्णबहादुर महरा (Victoria) र डिल्लीराम पराजुली (WA) चयन गरिएको थियो ।
साधारणसभामा निर्वाचन समितिदेखि लिएर स्वयंसेवक, सदस्य संस्था, संरक्षक परिषद्का सदस्य, अन्तरराज्यीय अतिथि, कलाकार, प्रायोजक तथा सहयोगीहरूलाई विशेष धन्यवाद दिइएको थियो। फेन्काका प्रवक्ता भोला गिरीले जारी गरेको विज्ञप्तिमा साधारणसभालाई सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई आभार व्यक्त गरिएको छ।
सातौँ वार्षिक साधारणसभासँगै फेन्काले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै अष्ट्रेलियामा नेपाली समुदायबीच अझ सशक्त सहकार्य, पहिचान र ऐक्यबद्धताको नयाँ यात्रा सुरु गरेको छ।
तपाइँको प्रतिक्रीया