२०८२ माघ १७ शुक्रबार

बहुसांस्कृतिक पहिचान कमजोर पार्ने प्रयास अस्वीकार्य – अष्ट्रेलियाली सरकार

  • admin २०८२ भाद्र १३ शुक्रबार

क्यानबेरा – आगामी आइतबार (३१ अगस्ट) देशभर आयोजना हुन लागेको “March for Australia” आप्रवासी विरोधी प्रदर्शनलाई अष्ट्रेलियाली सरकारले विभाजनकारी भन्दै कडा विरोध गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बनेजेको नेतृत्वमा सांसदहरूले संयुक्त वक्तव्य जारी गर्दै अष्ट्रेलियामा बसोबास गर्ने जो–कोहीलाई सुरक्षित र सम्मानित महसुस गर्ने अधिकार सुरक्षित रहेको र कुनै पनि जातीय घृणा फैलाउने गतिविधिलाई सहन नहुने बताएका छन्।

गृह मामिला मन्त्री टोनी बर्कले समाजलाई विभाजित गर्ने वा एकतालाई कमजोर पार्ने गतिविधिलाई अष्ट्रेलियामा स्थान नहुने स्पष्ट गर्दै “सरकार आधुनिक, समावेशी र बहुसांस्कृतिक अष्ट्रेलियाको पक्षमा छ” भनेका छन्। त्यस्तै मन्त्री डॉ. एन अलीले प्रदर्शनलाई “गैर–अष्ट्रेलियाली” भन्दै बहुसांस्कृतिकतालाई अष्ट्रेलियाको पहिचानको आधार भएको उल्लेख गरिन्।

विरोध प्रदर्शनमा सहभागी आयोजकमध्ये केहीले white nationalist विचारधारा, remigration (विदेशीलाई देश फर्काउने माग) र प्रो–नाजी सामग्री प्रचार गरेको तथ्य सार्वजनिक भएपछि यसलाई झन् विवादास्पद बनाएको छ। आप्रवासी समुदाय, विशेषगरी भारतीय मूलका विद्यार्थीहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन् भने विश्वविद्यालयहरूले विद्यार्थीहरूको सुरक्षाका लागि अतिरिक्त सहयोग र उपायहरू अपनाएका छन्।

सरकारले आप्रवासी र स्थानीय सबै नागरिकलाई एकता, शान्ति र आपसी सम्मान कायम गर्न आग्रह गर्दै “March for Australia” प्रदर्शनलाई अस्वीकार गर्न आह्वान गरेको छ।