एडिलेड,अष्ट्रेलिया / नेपाली टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा स्थानिय म्यारियन टेनिस क्लवमा आयोजित वार्षिक डबल टेनिस प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। खेलको विभिन्न चरणमा देखिएको स्वस्थ प्रतिस्पर्धा, अनुशासित खेल शैली र सहभागीहरूको उच्च मनोबलले यस कार्यक्रम विशेष र भव्य रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

प्रतियोगितामा भेष थापा र दीपेश कुँवरको जोडीले प्रभावशाली प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो। प्रारम्भदेखि नै उत्कृष्ट तालमेल र निरन्तर आक्रामक खेल प्रस्तुत गर्दै उनीहरूले अन्तिम क्षणसम्म खेलको नियन्त्रण कायम राख्दै विजय हासिल गरेका थिए। यस्तै, राज बहादुर केशी र दिलिप तमाङको जोडीले प्रशंसनीय खेल प्रदर्शन गर्दै उपविजेताको स्थान सुरक्षित गरेको थियो।

सुदृढ खेलभावना र अनुशासन कायम राख्दै निष्पक्ष खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने फेयर प्ले अवार्ड यस वर्ष सौरभ बिदारी र कृष्ण गुरुङको जोडीले प्राप्त गरेका थिए। आयोजकका अनुसार प्रतियोगिताभरि उनीहरूले देखाएको खेलप्रतिको सम्मान, अनुशासन र प्रतिस्पर्धामा प्रदर्शन गरेको सकारात्मक ऊर्जा उल्लेखनीय थियो।

विजयी खेलाडीहरूलाई एनआरएनए ओसियानाका पूर्व सह–संयोजक नबिन कडेल, लोन सोलुसन एडिलेडका निर्देशक अशोक अधिकारी र क्लबका सचिव बलराम भण्डारीलगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए। यस वर्षको प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूमध्ये loan Solutions, Anex Real Estate र Genius Consultancy Adelaide लाई विशेष योगदानको कदर गर्दै प्रशंसा–पत्र र “माया–को–चिनो” प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन क्लबका पब्लिक अफिसर सुरेन्द्र रेग्मीले गरेका थिए। कार्यक्रममा संयोजक उमेश बुढाथोकीले सहभागी खेलाडी, प्रायोजक, स्वयंसेवक तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ आकर्षक र व्यापक प्रतिस्पर्धा आयोजना गरिने जानकारी गराए।
नेपाली समुदायभित्र खेलकुदमार्फत एकता र सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले यस वर्ष पनि समुदायमा सकारात्मक सन्देश फैलाएको आयोजकको मूल्यांकन छ।










तपाइँको प्रतिक्रीया