काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिका संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार—विशेषगरी सम्पत्ति तथा भूमि सम्बन्धी अधिकार—तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको थियो। साथै संविधान र नागरिकता ऐनको मर्मअनुसार आवश्यक निर्णय तथा परिपत्र जारी गर्न आग्रह गरिएको थियो।
मन्त्री इङ्नामले गैरआवासीय नेपाली नागरिकका अधिकार कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको बताउँदै यससम्बन्धी आवश्यक कानून निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले कानून बनेसँगै अधिकार कार्यान्वयन हुँदै जाने स्पष्ट पार्नुभयो।
भेटवार्तामा एनआरएनएका उपाध्यक्ष बुद्धि सुवेदी, उपमहासचिव सोम सापकोटा, एनसीसी साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्याय, एनसीसी युएईका पूर्व महासचिव भुवन वाग्ले तथा कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रीया