अस्ट्रेलिया / अस्ट्रेलियन फेडरल पुलिस (AFP) र अस्ट्रेलियन बोर्डर फोर्स (ABF) ले पैसाको प्रलोभनमा परेर सुटकेसमार्फत लागुऔषध तस्करीमा संलग्न नहुन युवाहरूलाई कडा चेतावनी दिएका छन्। कानून कार्यान्वयन निकायका अनुसार सन् २०२५ जुनयता अस्ट्रेलिया भित्र्याउने उद्देश्यले पठाइएका २८० केजीभन्दा बढी अवैध लागुऔषध बरामद गरिएको छ।

AFP ले सार्वजनिक गरेको विवरणअनुसार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर समूहहरूले प्रयोग गर्ने यो तरिकालाई ‘सुटकेस कुरियर’ विधि भनिन्छ। यसमा आपराधिक गिरोहले अस्ट्रेलियामा रहेका व्यक्तिलाई लक्षित गरी विदेश यात्रा गर्न लगाउने र त्यही यात्राका क्रममा सुटकेसमार्फत लागुऔषध ल्याउन निर्देशन दिने गर्छन्। बरामद तथा अनुसन्धान गरिएका घटनाहरूमा संलग्न व्यक्तिहरूको बहुसंख्यक ३० वर्ष मुनिका युवा रहेको AFP ले जनाएको छ। तस्कर समूहहरूले एन्क्रिप्टेड मोबाइल एप र गोप्य सञ्चार माध्यम प्रयोग गरी सम्पर्क गर्ने र एक पटक लागुऔषध ओसारपसार गरेबापत ३० हजारदेखि ६० हजार अस्ट्रेलियन डलरसम्म दिने प्रलोभन देखाउने गरेका छन्। कतिपय अवस्थामा प्रत्यक्ष लागुऔषध नबोकी भावी कुरियर भर्ती गरेबापत पनि रकम दिने प्रस्ताव राखिने गरेको प्रहरीले जनाएको छ।
AFP का अनुसार योजनाअनुसार विदेश पुगेपछि कुनै व्यक्तिले लागुऔषध उपलब्ध गराउने व्यवस्था मिलाइन्छ। त्यसपछि अस्ट्रेलिया फर्किएपछि अपराधिक समूहकै सदस्यले उक्त लागुऔषध संकलन गर्ने तय गरिएको हुन्छ। तर अधिकारीहरूले यस्तो योजनाबाट उम्कन सम्भव नरहेको र सीमा निगरानी अत्यन्त कडा रहेको बताएका छन् । AFP र ABF ले स्पष्ट पारेका छन् कि अस्ट्रेलियामा सीमा–नियन्त्रित लागुऔषध आयात गर्नु गम्भीर आपराधिक अपराध हो। यस कसुरमा दोषी ठहरिएमा अधिकतम सजाय आजीवन कारावास हुनसक्ने कानुनी व्यवस्था छ।
सीमा सुरक्षा निकायहरूले समुदाय, अभिभावक र शैक्षिक संस्थाहरूलाई पनि सतर्क रहन आग्रह गरेका छन्। विदेश यात्रा गर्न अचानक ठूलो रकमको प्रस्ताव आउनु, अपरिचित व्यक्तिसँग गोप्य सम्पर्क बढ्नु वा शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रीया