२०८२ माघ २ बिहीबार

ब्रदर्श युनाइटेडको खेलाडी सम्मान साँझ,सिजनकै सर्वोत्कृष्ट खेलाडी बने अमन मोक्तान(फोटो फिचर)

  • admin २०८२ पौष १५ मङ्गलबार

एडिलेड । साउथ अस्ट्रेलियामा बसोबास गर्ने नेपाली युवालाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित स्थापना गरिएको ब्रदर्श युनाईटेड फुटवल क्लब (बियुएफसी) ले वर्ष २०२४–२५ को सिजन सफलतापूर्वक सम्पन्न गरेको छ। सो सिजनको उपलब्धि, संघर्ष र सफलताको उत्सवस्वरूप क्लबले हालै भव्य रूपमा खेलाडी सम्मान तथा प्रशंसा कार्यक्रम ‘गाला नाइट २०२५’ आयोजना गरेको हो। कार्यक्रममा क्लबका मुख्य टिम र रिजर्भ टिममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू, उदाउँदै गरेका प्रतिभा, समर्थक, विज्ञापनदाता तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो।

सन् २०१८ तिर साउथ अस्ट्रेलियामा रहेका नेपाली युवाहरूको साझा पहलमा स्थापना भएको Brothers United Football Club ले सुरुदेखि नै भाइचारा, अनुशासन, समर्पण र सामूहिक प्रयासलाई आफ्नो मूल मन्त्र बनाउँदै आएको छ। अध्ययन, रोजगारी र स्थायी बसोबासका क्रममा परदेशमा रहेका नेपाली युवालाई खेलकुदमार्फत जोड्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने र नेपाली प्रतिभालाई अष्ट्रेलियाली फुटबल प्रणालीसँग जोड्ने उद्देश्यसहित क्लबको स्थापना गरिएको हो। क्लबले फुटबललाई केवल खेलको रूपमा मात्र होइन, नेपाली समुदायभित्र आपसी सद्भाव, सहकार्य र नेतृत्व विकासको माध्यमका रूपमा अघि बढाउँदै आएको छ।

ब्रदर्श युनाईटेड फुटवल क्लब ले South Australian Amateur Soccer League (SAASL) अन्तर्गत नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हाल क्लबले मुख्य टिम र रिजर्भ टिम गरी दुई टिममार्फत SAASL मा सहभागिता जनाइरहेको छ, जुन साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। बहुसांस्कृतिक क्लबहरूबीचको प्रतिस्पर्धामा नेपाली क्लबको निरन्तर उपस्थितिले नेपाली युवाको फुटबल क्षमता, अनुशासन र प्रतिबद्धतालाई उजागर गर्दै आएको छ। हरेक सिजन अनुभव बटुल्दै क्लबले आफ्नो खेलस्तरमा उल्लेखनीय सुधार गर्दै अघि बढिरहेको देखिन्छ।

वर्ष २०२४–२५ को सिजनमा खेलाडीहरूको मेहनत, निरन्तरता र टिमप्रतिको समर्पणको उच्च कदर गर्दै विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। व्यावसायिक उत्कृष्ट खेलाडी (प्लेयर अफ प्रोफेसनल एक्सिलेन्स) को सम्मान सुबिद श्रेष्ठले प्राप्त गर्नुभयो भने सिजनकै सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) को अवार्ड अमन मोक्तानलाई प्रदान गरिएको थियो। निरन्तर मेहनत र अथक परिश्रमको प्रतीक ‘वर्कहर्स अफ द सिजन’ को उपाधि जनक पौडेलले हासिल गर्नुभयो। त्यस्तै, क्लबप्रति निरन्तर साथ र समर्थन जनाउँदै आएका सुष्मा श्रेष्ठ ‘सिजनका उत्कृष्ट समर्थक (फ्यान अफ द इयर २०२५)’ घोषित हुनुभयो।


मुख्य टिमतर्फ सिजनकै सर्वाधिक गोलकर्ता (हाइएस्ट स्कोरर) को अवार्ड सुरज राउतले जित्नुभयो। उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) को सम्मान एयराज सिटौलालाई प्रदान गरियो भने उत्कृष्ट रक्षक (बेस्ट डिफेन्डर) को अवार्ड अन्जन मोक्तानले प्राप्त गर्नुभयो। उत्कृष्ट मिडफिल्डर (बेस्ट मिडफिल्डर) को उपाधि प्रविन गुरुङले हात पार्नुभयो।



रिजर्भ टिमतर्फ सिजनकै सर्वाधिक गोलकर्ता ज्ञानेन्द्र तामाङ घोषित हुनुभयो। उत्कृष्ट गोलरक्षकको सम्मान विशाल राईलाई प्रदान गरियो भने उत्कृष्ट रक्षकको अवार्ड राजीव वस्तीले प्राप्त गर्नुभयो। उत्कृष्ट मिडफिल्डरको उपाधि रोनित महर्जनलाई प्रदान गरिएको थियो।



भविष्यका सम्भावनायुक्त खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘उदाउँदै गरेका प्रतिभा’ तर्फ वर्ष २०२४ का राइजिङ स्टार शृजन ढेके र वर्ष २०२५ का राइजिङ स्टार सन्दीप थापालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि म्यारिन काउन्सिलकी काउन्सिलर रेणुका लामाले नेपाली युवाले खेलकुदमार्फत समुदायको सकारात्मक छवि निर्माण गरिरहेको उल्लेख गर्दै ब्रदर्श युनाईटेड फुटवल क्लबले बहुसांस्कृतिक अस्ट्रेलियाली समाजमा नेपालीको पहिचान र गौरव बढाएको बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, नेतृत्व र सामूहिक भावना विकास गर्ने भएकाले यस्ता क्लबहरू अझ बलियो बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य क्लबका सचिव ज्ञानेन्द्र तामाङले राख्दै खेलाडी, व्यवस्थापन टिम, स्वयंसेवक र समर्थकहरूको योगदानबिना क्लब आजको अवस्थामा आइपुग्न सम्भव नहुने बताउनुभयो। क्लबको विगतदेखि हालसम्मको यात्राबारे पब्लिक रिलेसन अफिसर रज्नेश श्रेष्ठले जानकारी गराउनुभएको थियो। त्यस्तै, क्लबका टिम क्याप्टेन जनक पौडेलले हालसम्म हासिल गरिएका उपलब्धि, सामना गरिएका चुनौती र आगामी लक्ष्यबारे स्पष्ट पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन निकै उत्कृष्ट शैलीमा सामाजिक अगुवा बिनोद बानियाले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा क्लबका अध्यक्ष राज लामाले उपस्थित सबैलाई धन्यवाद दिँदै क्लबलाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका विज्ञापनदाता तथा पत्रकारहरूको सहयोगप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो। खेलाडीहरूका साथै क्लबको यात्रामा साथ दिने विज्ञापनदाता र पत्रकारहरूलाई पनि सम्मान गरिएको उक्त कार्यक्रम समग्रमा अत्यन्तै सभ्य, प्रेरणादायी र सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

आज ब्रदर्श युनाईटेड फुटवल क्लब साउथ अस्ट्रेलियामा नेपाली युवाको फुटबल पहिचान, एकता र गौरवको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।