२०८२ माघ २ बिहीबार

‘कमेडी दरबार’को अस्ट्रेलिया टुर पक्का, फेब्रुअरीदेखि आठ शहरमा हास्य प्रस्तुति

  • admin २०८२ पौष १८ शुक्रबार

अस्ट्रेलिया / चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ को टिम दर्शक हँसाउन अस्ट्रेलिया टुरमा निस्कने भएको छ। शोका निर्देशक तथा निर्माता शोभित बस्नेत र निर्देशक विक्की अग्रवालबीच अस्ट्रेलिया टुरका लागि औपचारिक कागजी सम्झौता सम्पन्न भएसँगै टुर निश्चित भएको हो।

निर्देशक बस्नेतका अनुसार अस्ट्रेलियामा बसोबास गर्ने नेपाली दर्शकलाई लक्षित गर्दै मनोरञ्जनात्मक प्रस्तुति दिन यो टुर आयोजना गर्न लागिएको हो। “कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,” उनले बताए।
आगामी फेब्रुअरी महिनाबाट सुरु हुने यो टुर करिब एक महिनासम्म चल्नेछ, जसमा ‘कमेडी दरबार’का अधिकांश चर्चित कलाकारहरूको सहभागिता रहनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासल लगायत करिब ८ वटा शहरमा कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रमको व्यवस्थापन र तयारीका लागि शोभित बस्नेत छिट्टै अस्ट्रेलिया आउने आयोजक संस्थाले बताएका छन्। यो कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट संयुक्त रूपमा आयोजक रहेका छन्। थ्री केजी इभेन्टका निर्देशक खुम घलेले कार्यक्रमको लागि तयार रहन अस्ट्रेलियाका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ।

यससँगै पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित मनोरञ्जन कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्। यसअघि रामकृष्ण ढकाल,शम्भुजित बास्कोटा, यम बराल, आनन्द कार्कीलगायत कलाकारहरूले अस्ट्रेलियाका विभिन्न शहरमा सफल प्रस्तुति दिइसकेका छन्।