न्युयोर्क;- अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले पक्राउ गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले यस किसिमको एकतर्फी सैन्य कारबाहीलाई कुनै पनि सार्वभौम राष्ट्रमाथिको युद्धसरहको कार्य भन्दै आलोचना गरेका हुन्।

मेयर मम्दानीका अनुसार यो कदमले संघीय मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गरेको छ। उनले खुला रूपमा सत्ता परिवर्तनको प्रयास गरिएको दाबी गर्दै, यसको प्रभाव विदेशसम्म मात्र सीमित नरही न्युयोर्क सहरभित्रै पनि गहिरो असर पार्ने चेतावनी दिएका छन्। उनले भने, “यस प्रकारको हस्तक्षेपले न्युयोर्कलाई आफ्नो घर बनाएका दशौँ हजार भेनेजुएलाली समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।”
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर मम्दानीले मादुरो दम्पतीलाई पक्राउ गरी न्युयोर्कमै संघीय हिरासतमा राखिने योजना बारे आफूलाई पहिल्यै जानकारी गराइएको पनि बताएका छन्।
पक्राउ परेपछि राष्ट्रपति मादुरो र उनकी पत्नीलाई हाल ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (MDC) मा राखिएको छ। न्युयोर्क प्रहरी विभागले मादुरोलाई कडा सुरक्षा व्यवस्थाबीच हेलिकप्टरमार्फत म्यानहट्टन ल्याई, त्यसपछि मोटरकेडसहित उक्त हिरासत केन्द्र पुर्याएको थियो।
उक्त संघीय कारागारमा यसअघि पनि थुप्रै चर्चित अभियुक्तहरू राखिइसकेको इतिहास छ। संगीत उद्योगका चर्चित व्यक्तित्व सिन ‘डिडी’ कोम्ब्स तथा क्रिप्टो उद्यमी स्याम बैंकम्यान–फ्राइड पनि यही केन्द्रमा थुनिएका थिए।
मादुरोले अब म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध तथा हतियार ओसारपसारसम्बन्धी आरोपको सामना गर्ने बताइएको छ। पक्राउपछिको केही घण्टामै उनलाई न्युयोर्क ल्याइएको थियो।

तपाइँको प्रतिक्रीया