काठमाडौं । साउदी समर्थित यमनी सरकारी सेनाले शनिवार यमनको दक्षिण–पूर्वी तेल सम्पन्न प्रान्त हद्रामौतको दोस्रो ठूलो शहर सेयुनलाई पुनः नियन्त्रणमा लिएको छ ।
सरकारी सैन्य स्रोत र स्थानीय बासिन्दाकाअनुसार यो शहर करिव एक महिनाअघि दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) ले कब्जा गरेको थियो । सरकारी अधिकारीहरूकाहनुसार एसटीसी सेना सेयुनको विमानस्थल र अन्य प्रमुख राज्य संस्थाहरूबाट शान्तिपूर्ण रूपमा फिर्ता भएपछि सरकारी सेनाले कुनै पनि सशस्त्र भिडन्त बिना नै शहरमा आफ्नो पकड जमाएको छ ।
स्थानीय बासिन्दाहरूले प्रमुख सडक र सरकारी सुविधाहरूमा सरकारी सेना परिचालन गरिएको र सहरको सुरक्षा अवस्था स्थिर रहेको पुष्टि गरेका छन् । रियादमा रहेका हद्रामौतका गभर्नर सलेम अल–खानबाशीले पनि सरकारी सेनाले अन्तर्राष्ट्रिय विमानस्थल र प्रमुख सरकारी निकायसहित सम्पूर्ण सहरमा नियन्त्रण कायम गरेको घोषणा गरेका छन् ।
यसैबीच, एसटीसीका एक कमाण्डरले साउदी अरबबाट सम्भावित हवाई आक्रमणको चेतावनी आएपछि आवासीय क्षेत्रलाई क्षतिबाट जोगाउन आफ्ना लडाकुहरू अस्थायी रूपमा पछि हटेको बताए । उनले भविष्यमा सैन्य अपरेसन पुनः शुरु गर्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी समेत दिएका छन् ।
साउदी समर्थित सयौं यमनी सरकारी सेनाहरूले एसटीसीप्रति वफादार सेनाहरूलाई निष्कासन गर्न र रणनीतिक क्षेत्रमा सरकारी नियन्त्रण पुनः स्थापित गर्न ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेका थिए । साउदी युद्धविमानहरूले सरकारी सेनाको समर्थनमा प्रान्तका विभिन्न स्थानहरूमा हवाई आक्रमण तिब्र पारेका थिए । जसका कारण २० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।
यमनमा सन् २०१४ देखि द्वन्द्व जारी छ । २०१७ मा गठित यूएई समर्थित एसटीसीले दक्षिण यमनको स्वतन्त्रताको माग गर्दै आएको छ । जसले गर्दा साउदी नेतृत्वको गठबन्धनभित्रै पनि शक्ति र स्रोतको बाँडफाँडलाई लिएर बारम्बार विवाद हुने गरेको छ ।

तपाइँको प्रतिक्रीया