२०८२ माघ २ बिहीबार

ओखलढुंगामा तीन महिनाको अन्तरालमा तीनजनाको हत्या, सीआइबीले समात्याे गिराेह

  • admin २०८२ पौष २० आइतबार

काठमाडौं । ओखलढुंगामा श्रृखलाबद्ध रुपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूराे (सीआईबी)ले केही महिनादेखि ओखलढुंगामा दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरी सामुहिक रुपमा आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका– ३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका –४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई हिजो रातमाटेबाट पक्राउ गरेको हो ।

४ जनाको समूहले गत पुस १५ गते राति ८ बजे ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका– ६, भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल संञ्चालन गरी बसेका ६० वर्षीय शोभितमान थापा मगर र उनको ६० वर्षीय श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए ।

दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेर उनीहरु फरार भएका थिए ।

उक्त घटनापछि केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरुले यसअघि ३ महिना अघि नै अर्को हत्या गरेको खुल्न आयो ।

गत असोज २६ गते राति २ बजे ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं। ४ चार्खुमा खेति किसानी गरी बस्ने ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवाल (कार्की)को हत्या गरेका थिए । कार्कीलाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी विभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको घटना समेतमा संलग्न रहेको खुल्न आएको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो १ थान, रत्न कुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाइएको रिङ ,रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ। उनीहरुमाथि आवश्यक थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।