एडिलेड । नेपाली समुदायका लागि विशेष सांस्कृतिक महत्व बोकेको माघ १ अर्थात् माघे संक्रान्ति पर्व यस वर्ष पनि एडिलेडमा भव्य रूपमा मनाइने भएको छ। मगर समाज साउथ अष्ट्रेलियाको आयोजनामा तथा Mortgage Journey को प्रस्तुतिमा माघे संक्रान्ति–२०२६ कार्यक्रम आगामी जनवरी १५, २०२६ का दिन आयोजना हुने भएको हो।

कार्यक्रम एडिलेडस्थित Cosgrove Hall, Clovelly Park मा दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा चर्चित लोकगायिका दिपिका बयम्बु मगर र नेपाल आइडल सिजन ४ का विजेता भूपेन्द्र थापा मगरको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कौरा नाचसहित मगर तथा नेपाली संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुति, लाइभ कौरा, नेपाली खानाका परिकार र सामुदायिक सहभागितामूलक कार्यक्रम समावेश गरिनेछ।
मगर समाज साउथ अष्ट्रेलियाका अध्यक्ष गोविन्द रानाले प्रवासमा नेपाली पहिचान, संस्कृति र परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। “माघे संक्रान्ति मगर समुदायका लागि नयाँ वर्षकै रूपमा मनाइन्छ। प्रवासमा हुर्किँदै गरेका बालबालिकालाई आफ्नै संस्कृतिसँग जोड्न यस्तो कार्यक्रम महत्वपूर्ण हुन्छ,” रानाले भने।
कार्यक्रम संयोजक कमल थापा मगरले यो कार्यक्रम सिङ्गो नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको स्पष्ट पार्दै सबैलाई उपस्थितिका लागि आग्रह गरे। “मगर समुदाय मात्र होइन, सम्पूर्ण नेपालीलाई एकै ठाउँमा जोड्ने उद्देश्यका साथ कार्यक्रम तयार गरिएको हो। प्रवेश निःशुल्क छ, परिवारसहित आएर माघे संक्रान्तिको मौलिक स्वाद र संस्कृति अनुभव गर्न सबैलाई हार्दिक निमन्त्रणा छ,” थापाले बताए।
माघे संक्रान्तिजस्ता चाडपर्वले प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नै संस्कृति, परम्परा र पहिचानसँग जोडेर राख्ने महत्वपूर्ण भूमिका खेल्छन्। यस्ता पर्वले फरक–फरक जाति, भाषा र पृष्ठभूमिका नेपालीहरूलाई एउटै स्थानमा ल्याई आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना मजबुत बनाउँछन्। साथै, प्रवासमा हुर्किँदै गरेका नयाँ पुस्तालाई आफ्ना संस्कार, इतिहास र सांस्कृतिक मूल्यबारे प्रत्यक्ष अनुभूति गराउने माध्यमका रूपमा पनि यस्ता चाडहरूको ठूलो महत्व रहन्छ।


तपाइँको प्रतिक्रीया