काठमाडौं । पश्चिमी जापानको सिमाने प्रान्तमा मंगलबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १०:१८ बजे शिमाने प्रान्तको पूर्वी भागलाई केन्द्रविन्दु बनाएर करिब १० किलोमिटर गहिराइमा भूकम्प गएको हो।
भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। सिमाने, यासुगी लगायत आसपासका क्षेत्रमा कडा झट्का महसुस गरिएको भए पनि ठूलो भौतिक वा मानवीय क्षतिको तत्काल विवरण प्राप्त भएको छैन। यासुगी सहरमा जापानको शिन्दो स्केल अनुसार कम्पनको तीव्रता ‘५ माथि’ मापन गरिएको छ।
भूकम्पपछि सोही क्षेत्रमा ४.५, ५.१, ३.८ र ५.४ म्याग्निच्युडका पराकम्पहरू पनि आएका छन्। शिमानेस्थित आणविक विद्युत् केन्द्रमा कुनै असामान्यता नदेखिएको जनाइएको छ भने विद्युत् अवरोधका कारण शिन्कानसेन बुलेट ट्रेन सेवाका केही खण्ड अस्थायी रूपमा रोकिएका छन्।
भूकम्पलगत्तै प्रधानमन्त्री सानाए ताकाइचीले ‘प्रधानमन्त्री कार्यालय सम्पर्क कक्ष’ स्थापना गर्न निर्देशन दिएकी छन्। सरकारले क्षतिको मूल्याङ्कन र उद्धार कार्यका लागि उच्च सतर्कता अपनाएको छ। साथै सम्भावित पराकम्पलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

तपाइँको प्रतिक्रीया