अमेरिका- अमेरिकाले पछिल्ला वर्षहरूमा भिसा नीतिमा कडाइ गर्दै आएको क्रममा नेपाललाई पनि बी–१/बी–२ (पर्यटक तथा व्यावसायिक) भिसामा धरौटी राख्नुपर्ने देशको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयको पछिल्लो अपडेटअनुसार यो व्यवस्था जनवरी २१ देखि लागू हुनेछ।

नयाँ नियमअनुसार नेपाली नागरिकले बी–१/बी–२ भिसा आवेदन दिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी (भिसा बन्ड) राख्नुपर्नेछ। भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको अवस्था हेरेर धरौटी रकम निर्धारण गर्नेछन्। उक्त रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल Pay.gov मार्फत मात्रै बुझाउनुपर्ने र कुनै पनि एजेन्ट वा तेस्रो पक्षलाई रकम नदिन मन्त्रालयले चेतावनी दिएको छ।
भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले न्युयोर्कको जेएफके, वासिङ्टन डलेस र बोस्टन लोगन विमानस्थलबाट मात्र अमेरिका प्रवेश र बहिर्गमन गर्न पाउनेछन्। तोकिएका विमानस्थलबाहेक अन्य स्थान प्रयोग गरेमा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी दिइएको छ।
तोकेको समयभित्र अमेरिका छोडेमा, भिसाको सर्त उल्लङ्घन नगरेमा र निर्दिष्ट विमानस्थलबाटै बाहिरिएको प्रमाण भएमा मात्रै धरौटी रकम पूर्ण रूपमा फिर्ता हुने जनाइएको छ। भिसाको म्याद नाघेर बस्ने वा शरणार्थी दाबी गर्नेको धरौटी जफत हुनेछ।
अमेरिकाले समयमै फर्किन नआउने नागरिकको संख्या धेरै भएका देशलाई लक्षित गर्दै यो ‘पाइलट कार्यक्रम’ ल्याएको जनाएको छ। नेपालसँगै यो सूचीमा बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएलालगायत ३८ देश समावेश छन्।

तपाइँको प्रतिक्रीया