२०८२ माघ २ बिहीबार

सिड्नीमा ‘माघी महोत्सव २०२६’ भव्य तयारी, थारू संस्कृतिको उत्सव

  • admin २०८२ पौष २५ शुक्रबार

सिड्नी — अस्ट्रेलियाको सिड्नी शहरमा थारू समुदायको महान् पर्व माघीलाई केन्द्रमा राखेर ‘माघी महोत्सव २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ। प्रवासमा रहँदै पनि मौलिक भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो।

थारू समाज सिड्नीको आयोजनामा यही जनवरी १५ मा हुने महोत्सव सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर रकडेलमा सम्पन्न हुनेछ। महोत्सव फर्स्टाइल होम्सको प्रस्तुति तथा द गार्डेन्स अन फरेस्ट (इन्द्रेणी ग्रुप) को सहकार्यमा आयोजना गरिँदै छ। साथै, महोत्सवमा चर्चित गायक सविन चौधरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै थारु संस्कृतिअनुसार लाठी नाच, झुमरा नाच, थारु र्याम्प, वाकलगायत मौलिक नृत्य, सांस्कृतिक झाँकी, सामूहिक नृत्य तथा परम्परागत थारु परिकार र खानपिन कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

थारू समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीले माघी महोत्सवले प्रवासमा रहेका थारू समुदायलाई आपसमा जोड्ने मात्र नभई नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग नजिक ल्याउने विश्वास व्यक्त गरे।
“माघी केवल एउटा पर्व होइन, यो हाम्रो पहिचान, एकता र संस्कृतिको प्रतीक हो,” उनले भने, “अस्ट्रेलियामा बसोबास गर्ने थारू समुदायलाई एउटै मञ्चमा जोड्ने, नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग परिचित गराउने र बहुसांस्कृतिक समाजमा थारू पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।”

कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोकिएको छ। आयोजकले अस्ट्रेलियामा रहेका सम्पूर्ण थारु समुदायसहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई महोत्सव सफल बनाउन हार्दिक अनुरोध गरेको छ।