२०८२ माघ २ बिहीबार

पूर्व गोर्खा सैनिक हरि बुढामगरद्वारा माउन्ट भिन्सनको सफल आरोहण

  • admin २०८२ पौष २५ शुक्रबार

काठमाडौँ — पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गरेका छन्। यसअघि विश्वका छवटा महाद्वीपका अग्ला शिखरहरूको सफल आरोहण गरिसकेका बुढामगरले यससँगै विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नि’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीको ऐतिहासिक कीर्तिमान कायम गरेका हुन्।

क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका बुढामगरले सहयोगी अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा तीन दिनको कठिन आरोहणपछि ६ जनवरी २०२६ राति १० बजे समुद्री सतहबाट ४,८९२ मिटर उचाइमा रहेको शिखरमा पाइला टेकेका हुन्।

माइनस २५ डिग्री सेल्सियससम्मको कठोर चिसो, तीव्र हावा र हिउँले ढाकिएको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले पार गर्दै उनले ‘असम्भव केही छैन’ भन्ने सन्देश विश्वभर फैलाएका छन्। बुढामगरले यो सफलता अपाङ्गता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्ने अभियानका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेका छन् ।रोल्पाको एउटा गाउँबाट सुरु भएको हरिको जीवन सन् २०१० मा अफगानिस्तानमा भएको बम विस्फोटले बदलिएको थियो। देशको सेवामा खटिँदा उनले दुवै खुट्टा गुमाउन पुगेका थिए।हरिले कहिले हार मानेनन् उनले कृत्रिम खुट्टाले सगरमाथा चढेर देखाइदिए। निरन्तर प्रयास र मेहनत भयो भने मान्छेले आफ्नो भाग्य आफै निर्धारण गर्न सक्छ भन्ने जीवित उदाहरण बनेका छन्, हरि बुढा मगर।