काठमाडौं / नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०८२ सालको निर्वाचनमार्फत लक्ष्मण (एन्ड्रयू) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न निर्वाचनमा बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी उपाध्यक्ष, भवनाथ हुमागाईं महासचिव, सुरज सिलवाल र आशिक कार्की सचिव, साधना पुडासैनी कोषाध्यक्ष र गोविन्द खनाल सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हात्ती, दिनेश पौडेल, सञ्जिव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना रहेका छन्।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण (एन्ड्रयू) पौडेल शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव राख्ने नेतृत्वकर्ता हुन्। उनले ग्रेस इन्टरनेशनल नेपाल र दक्षिण एसियाको नेतृत्व गर्दै हजारौं विद्यार्थीलाई विदेश अध्ययनको मार्गदर्शन प्रदान गर्दै आएका छन्। उनका अनुसार शैक्षिक परामर्श केवल भिसा प्रक्रियामा सीमित नभई दीर्घकालीन करियर योजना, नैतिक अभ्यास र उत्तरदायी पेशागत संरचनासहित अगाडि बढाउनु आजको आवश्यकता हो।
ईक्यानले नयाँ कार्यसमितिको नेतृत्वमा देशभरका विद्यार्थीहरूलाई गुणस्तरीय, पारदर्शी र जिम्मेवार शैक्षिक परामर्श सेवा प्रदान गर्ने र परामर्श क्षेत्रको विश्वसनीयता सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।



तपाइँको प्रतिक्रीया