काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आह्वान भएपछि उत्पन्न संकटबारे समाधान गर्न बनाइएको कांग्रेसको वार्ता टोलीको पहिलो चरणको छलफल सकिएको छ ।
दुवै पक्षले आ–आफ्नो समूहमा ब्रिफिङ गर्ने भन्दै वार्ता टोलीका सदस्यहरू उठेका छन् ।
संस्थापनको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गगन थापा-विश्वप्रकाश शर्माको तर्फबाट प्रदीप पौडेलले वार्ताको नेतृत्व गरेका छन् ।
सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा मंगलबार बिहान वार्ता भएको हो ।
वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर एक सदस्यका अनुसार सहमति गरेर जाने भन्नेमा दुवै पक्ष सहमत भएपनि कन्टेन्टमा सहमति भइसकेको छैन ।
‘सहमतिमा जान अधिकतम प्रयास गर्ने भन्ने भएको छ । दोस्रो चरणको वार्तामा बस्नुअघि यहाँ भएको छलफलको ब्रिफिङ गर्छौं’, ती नेताले भने, ‘उहाँहरूले पनि सभापतिसँग छलफल गर्छौं भन्नुभएको छ ।’
वार्तामा विशेष महाधिवेशन पक्षधरको तर्फबाट पौडेलसहित गुरुराज घिमिरे, मधु आचार्य र देवाज चालिसे सहभागी थिए ।
वार्ता चलिरहेको समयमा पनि भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।
यही वार्ताका कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।

तपाइँको प्रतिक्रीया