काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावमाथि समूहगत छलफलपछि समूहगत धारणा राख्ने क्रम जारी छ । हलमा नयाँ नेतृत्व चयन गरेर जानुपर्ने दबाब बढेको छ ।
कसले के भने ?
मधेश प्रदेश वीरेन्द्र साहले पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए। पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने बताए ।
पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउन माग गरे। पार्टीबाट कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ ।
यस्तै, सङ्घीय बजेट जनसङ्ख्याको आधार हुनुपर्ने बताए। प्रदेशमा क्लस्टरको आधारमा निर्वाचन प्रणाली हुनुपर्ने बताए। सुनकोसी मरिन डाइभर्सन तराइलाई सिचाइका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरे।
लुम्बिनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको बताए।
गण्डकी प्रदेशको सभापति शुक्रराज शर्माले कांग्रेसले आफूलाई सुधार्न सके अजय शक्तिको रूपमा देखा पर्न सक्ने बताएका छन् । उनले जहिले पनि अर्काको वैशाखी टेकेर हिँडेकाले कांग्रेसको प्रभाव घट्दै गएको भन्दै उनले अब आफ्नै खुट्टामा उभिएर हिँड्न पर्ने बताए।
जेनजी आन्दोलनका क्रममा भएको घटनाप्रति क्षमा माग्दै अब कांग्रेसले अगाडिका बाटो निर्णय गर्नुपर्ने बताए। ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दा पनि संस्थापन पक्षले नमानेको उनको माग छ।
उनले भने, कांग्रेसले नयाँ नेतृत्व खोजेकोले अब नयाँ शिराबाट जानुपर्छ। गुमेका विरासतहरू फर्काउनु पहल गर्नुपर्छ। उनले पार्टीले हिन्दू राष्ट्र फर्काउनु पर्ने माग गरेका छन्।
कर्णाली प्रदेशबाट हर्ष बम राजनीतिमा नैतिकताको खाँचो रहेका बताएका छन्। उनले राजनीतिमा नैतिकता नभए शासक तानाशाह हुने बताए।
उनले भने, ‘जसको नीति हुन्छ, उसैको नेतृत्व हुनुपर्छ। हलबाटै नेतृत्व हुनुपर्छ। कसैले अँध्यारो कोठाभित्र जालझेल गर्दै हुनुहुन्छ भने त्यो अब स्वीकार्य हुँदैन।’
बागमती प्रदेशकी सीता मिजार महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका साङ्गठनिक प्रतिवेदनमथि सुझाव दिइन्। उनले सङ्घ र प्रदेशमा कति पटक मन्त्री वा सांसद हुन पाउने भन्ने व्यवस्था हुनुपर्ने सुझाव पेस गरिन् ।
यस्तै गगन थापाको प्रतिवेदनको ९ को क र ग मा दलितको व्यवस्था राख्नु छुटेको भन्दै राख्न माग गरिन्। संविधानमा दलितहरूको विषय धेरै ठाउँमा छुटेको भन्दै परिमार्जन गर्नुपर्ने बताइन्।
यस्तै प्रत्यक्ष र समानुपातिकका लागि भूगोल पनि छुटाउनुपर्ने भन्दै दलितहरूले चुनाव लड्न गाह्रो हुने बताइन् ।
पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले विशेष महाधिवेशनले नेता र नेतृत्वलाई चयन गर्नुपर्ने अडान राखे । चुनावी गठबन्धन नगर्ने स्पष्ट नीति हुनुपर्ने बताए ।
उनले भने, ‘निर्वाचन पश्चात् संविधानको रक्षा गर्दै आगामी जनादेश तय गर्नुपर्छ। पार्टीभित्र आन्तरिक निर्वाचन कमिटी बनाएर जानुपर्छ। जेनजी आन्दोलनको मर्म अनुसार जेनजी पुस्ताको भावनालाई आत्मसात् गर्दै युवा सहभागिता हुनुपर्छ ।’
पार्टी संरचना सशक्त बनाउनु पर्ने जोड दिँदै सबै पुस्तालाई एकरूपता गर्दै अन्याय भएका पुस्तालाई अगाडि ल्याउनुपर्ने बताए ।
लुम्बिनी प्रदेशकी अनिता शाहले कांग्रेसले लोकतन्त्र र पारदर्शीताका कुराहरू लेखेर राख्नुपर्ने बताइन्। साङ्गठनिक रूपमा नेतृत्वमा महिलाहरूलाई पुर्याउने काम हुनुपर्ने बताइन्। महिलाहरूको सहभागिता ४० प्रतिशत पुराउनुपर्नेमा उनले जोड दिएकी छिन् ।
कांग्रेस केन्द्रीय समिति ठूलो आकारको भएको भन्दै सानो चुस्त दुरुस्त बनाउनुपर्ने सुझाइन्।

तपाइँको प्रतिक्रीया