२०८२ माघ १७ शुक्रबार

नेपाली भजन कीर्तन समूह एडिलेडको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. दया पराजुली

  • admin २०८२ माघ १३ सोमबार

एडिलेड । साउथ अष्ट्रेलियामा नेपाली धर्म, संस्कृति र भजन कीर्तनको संरक्षण र प्रवर्द्धन गर्दै आएको नेपाली भजन कीर्तन समूह एडिलेडले आफ्नो पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले आगामी दुई वर्षका लागि डा. दया पराजुलीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै समूहलाई नयाँ दिशा र ऊर्जा प्रदान गरेको छ।

समितिमा उपाध्यक्षमा शिव काफ्ले, सचिवमा शिव रिमाल, सह–सचिवमा कविता पराजुली, र कोषाध्यक्षमा सीमा कडेल चयन भएका छन्। सदस्यहरूमा क्षितिज सापकोटा, यदु आचार्य, हरि रेग्मी, इन्दु भट्टराई, जीवनप्रसाद भट्टराई, धीरज जंग खड्का, विकास शर्मा पोखरेल, शिवानी कार्की, सुनिता अमगाई र सम्भव शास्त्री सुवेदी रहेका छन्।

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका वाणिज्यदूत दीपक धमलाले प्रवासमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षणमा समूहले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सक्रिय रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। यसैगरी, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्काले बहुसांस्कृतिक समाजमा नेपाली पहिचान मजबुत बनाउन समूहले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले संस्थासँगको सहकार्यलाई अझ बलियो बनाएर नेपाली संस्कार र संस्कृतिको संरक्षणमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा फेन्का अष्ट्रेलिया सह‑प्रवक्ता तथा एडिलेड नेपाली समाजका पब्लिक अफिसर सुरेन्द्र रेग्मी, एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष तथा समूहका संस्थापक अध्यक्ष गणेश पराजुली, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोइराला र पत्रकार विकास पौडेलले समूहको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

नेपाली भजन कीर्तन समूह एडिलेडको स्थापना सांस्कृतिक संरक्षण, धार्मिक भजन कीर्तनमार्फत आध्यात्मिक अनुभवको प्रवर्द्धन र समुदायमा सद्भाव र एकता स्थापना गर्ने उद्देश्यले भएको हो। समूहले नियमित रूपमा महाशिवरात्री, श्रीकृष्ण जन्माष्टमी लगायतका हिन्दू पर्वहरूमा भजन‑कीर्तन र पूजा कार्यक्रम आयोजना गर्दै आएको छ। यी गतिविधिहरूले नेपाली समुदायलाई एकता, पहिचान र सांस्कृतिक शिक्षा प्रदान गर्नुका साथै धर्म, संस्कार र परम्पराको जगेर्नामा योगदान पुर्‍याउँदै आएको छ।

अधिवेशनपछि सम्पन्न बन्द सत्रका लागि नविन कडेल, पुष्कर कोइराला र युवराज पहाडी सम्मिलित अध्यक्षमण्डल गठन गरिएको थियो। नवनिर्वाचित अध्यक्ष डा. दया पराजुलीले स्वागत मन्तव्यमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले विश्वास व्यक्त गरे अनुसार नयाँ नेतृत्वसँगै समूहले आगामी दिनमा अझ संगठित, सक्रिय र समुदायसँग घनिष्ठ रूपमा जोडिने छ।

नेपाली भजन कीर्तन समूह एडिलेडले न केवल धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ, तर प्रवासी नेपाली समुदायमा सांस्कृतिक शिक्षा, सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। नयाँ नेतृत्वको आगमनसँगै यस समूहले नेपाली संस्कृति र भजन कीर्तनको परम्परा प्रवासमा जीवित राख्दै समुदायको गौरव बढाउने मार्गमा अघि बढ्ने छ।