काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सक्दो समय आफ्नो निर्वाचन क्षेत्रमै बस्ने बताएका छन् । सर्लाही पुगेका थापाले मतदातासँग कुरा गर्दै अरू नेताहरूजस्तो हतार हतारमा आएर हात हल्लाएर फोटो खिचेर आफू नहिँड्ने बताए ।
उनले भने, ‘म यहाँबाट होइन, अरू निर्वाचन क्षेत्रहरू जान्छु, पार्टीको जिम्मेवारीमा छु । त्यसपछि फेरि आउँछु, सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ बस्छु । जति सक्छु त्यति ठाउँमा पुग्छु, गाउँमा पुग्छु । तर, म के चाहिँ गर्दिनँ यतिखेर भने, चुनावको बेलामा अहिले आएर हतार हतार गरेर सबै कुरा आएर ढाकछोप गरेर सबै कुरा गर्ने, अनि आएर फोटो खिच्ने, हात हल्लाउने, त्यसपछि गएर म छुमन्तर भएर जाने होइन ।’
उनले आफूलाई दुई लाइन भए पनि यहाँको भाषामा बोल्नुपर्छ सिक्नुस् भनेर पार्टीका नेताहरूले भनेपनि आफूले नमानेको बताए ।
उनले भने, ‘म दुई लाइन यहाँको भाषामा बोल्ने सिकेर आएर, एकछिन आएर रातभरि घोकेर आएर यहाँ आएर गर्दिनँ । म यहाँको भइसकेपछि ६ महिनामा ८ महिनामा यहाँको प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । ५ महिना, ६ महिना, ८ महिना, ९ महिना लाग्ला, १० महिना लाग्ला, १ वर्ष लाग्ला ।’
उनले आफू ९/१० महिनापछि एक लाइन नभई माइक समातेर यहाँको भाषामा भाषण गर्ने बन्ने बताए ।
उनले थपे, ‘सबै कुरा मैले गर्दै जाने हो । त्यसैले म नौटङ्की गर्दिनँ । चटकेजस्तो पनि कुरा गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी निर्वाह गर्न चाहन्छु । र, यो जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईँहरू सबैको साथ सहयोग रहन्छ र फागुन २१ सम्म अब यो त्यो नभनीकन अब हामी वडागत रूपमा छलफल गर्छौँ । छलफल गरेर केही कार्ययोजना बनाउँछौँ, त्यो कार्ययोजना अनुरूप तपाईँहरू सबैजना लाग्नुहुन्छ, मेहनत गर्नुहुन्छ ।’

तपाइँको प्रतिक्रीया