२०८२ माघ १७ शुक्रबार

कांग्रेसलाई जन्माएको, हुर्काएको र टिकाएको पनि मधेशले हो- गगन थापा

  • admin २०८२ माघ १५ बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरेपनि मधेशप्रति न्याय गर्ने सन्दर्भमा कांग्रेसबाट केही चुक र कमी भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा मतदातालाई सम्बोधन गर्दै उनले मधेशको सम्मान, प्रतिनिधित्व र मधेशले पाउनुपर्ने अधिकारका सवालमा कांग्रेसले गर्नुपर्ने काम समयमा गर्न नसकेको स्वीकार गरे । उनले यही खालीपनका कारण थुप्रै नयाँ तथा मधेश केन्द्रित पार्टीहरू उदाएको पनि बताए ।

‘म कसैलाई दोष लगाउन चाहन्नँ । तर कांग्रेसले के बुझ्नुपर्थ्यो भने मधेश हाम्रो जननी हो, हाम्रो आमा हो । हामी यसका जेठा छोरा-छोरी हौं‚’ उनले भने‚‘यसको सेवा गर्नु, यसको हक-अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । कतिपय विषयमा हामीले उठाउनुपर्ने जिम्मेवारी समयमा नउठाएको स्वीकार गर्नुपर्छ ।’

सभापति थापाले त्यही गल्तीलाई सुधार गर्न नेपाली कांग्रेसले आफ्नो सभापति अर्थात् आफूलाई नै मधेशको उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गरे ।

‘सिङ्गो मधेशमा यो सन्देश लिएर आएको छौं कि मधेशको जिम्मा हामी लिन्छौं, मधेशका माग हामी पूरा गर्छौं‚’ उनले भने ।

सभापति थापाले सम्बोधनका क्रममा सर्लाहीको एउटा क्षेत्रबाट मात्र नभइ सिङ्गो सर्लाही र मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनले जिम्मेवारी लिएर आफू मधेश झरेको बताए ।

‘यो विश्वासका साथ कि आगामी पाँच वर्षमा नेपाली कांग्रेसले सिंगो देशको र देशभित्र मधेशको सेवा गर्ने आफ्नो ऐतिहासिक कर्तव्य पूरा गर्नेछ । यही संकल्प लिएर हामी आज यहाँ आएका छौं‚’ थापाले भने ।

सभापति थापाले कांग्रेसले सबैभन्दा ठूलो शक्ति मधेशबाट प्राप्त गर्न चाहेको पनि उल्लेख गरे । ‘किनभने मधेश नेपाली कांग्रेसको जन्मभूमि हो । कांग्रेसलाई जन्माउने, सम्हाल्ने, हुर्काउने र बलियो बनाउने यही धर्ती हो । यही मधेशले कांग्रेसलाई टिकाएको हो‚’ उनले भने ।