२०८२ माघ २४ शुक्रबार

कालीकोटका बालबालिकालाई न्यानो साथ: Help Nepal Networkद्वारा ५३ सेट ट्र्याकसुट वितरण

  • admin २०८२ माघ २४ शुक्रबार

कालीकोट । हिमाली भेगको कठोर जाडोले बालबालिकाको पढाइमा असर नपरोस्, उनीहरू विद्यालय आउन हौसला राखून् र शिक्षाप्रति अझ दृढ बनून् भन्ने उद्देश्यका साथ Help Nepal Network ले कालीकोट जिल्लाको सानी त्रिवेणी गाउँपालिका–५ स्थित श्री खपर्मस्ता आधारभूत विद्यालयका ईसीडीदेखि कक्षा ५ सम्म अध्ययनरत ५३ जना विद्यार्थीलाई न्यानो ट्र्याकसुट वितरण गरेको छ।

चिसो मौसमका कारण कतिपय बालबालिकाले विद्यालय आउन कठिनाइ भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको दैनिकीमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा बालबालिकाको अनुहारमा देखिएको मुस्कान र उत्साहले कार्यक्रमको सार्थकता झल्काएको स्थानीय शिक्षक तथा अभिभावकहरूले बताएका छन्।

आयोजक संस्थाका अनुसार यो कार्यक्रम केवल लत्ताकपडा वितरणमा सीमित नभई दुर्गम भेगका बालबालिकालाई शिक्षामा निरन्तरता दिन प्रेरित गर्ने सामाजिक अभियानको हिस्सा हो। संस्थाका प्रतिनिधिहरूले बताए।

Help Nepal Network गैरआवासीय नेपालीहरूको साझा पहलमा स्थापना भएको अन्तर्राष्ट्रिय मानवसेवी संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, विपद् उद्धार, पुनर्स्थापना तथा सामाजिक उत्थानका क्षेत्रमा नेपालभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालय भवन निर्माणदेखि छात्रवृत्ति सहयोग, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर तथा विपद् पीडित सहायता कार्यक्रमसम्म संस्थाले दीर्घकालीन सामाजिक परिवर्तनको लक्ष्यसहित काम गर्दै आएको छ।

Help Nepal Network का ग्लोबल अध्यक्ष डीला खरेलले यस कार्यलाई सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, दाता, शुभेच्छुक तथा सहयोगी मनहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भन्नुभयो,“न्यानो कपडासँगै उनीहरूको सपनामा पनि न्यानोपन थप्ने हाम्रो चाहना हो,सानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो उज्यालो ल्याउन सक्छ। तपाईंहरूको माया, विश्वास र साथले आज ती नानीहरूको भविष्यमा आशा र आत्मविश्वासको न्यानो स्पर्श पुर्‍याएको छ।”

विद्यालय प्रशासन तथा अभिभावकहरूले यस्ता सहयोग कार्यक्रमले ग्रामीण भेगका बालबालिकाको शिक्षामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार जाडोयाममा न्यानो कपडाको अभावले पढाइमा अवरोध आउने समस्या यस सहयोगले धेरै हदसम्म कम गर्नेछ। Help Nepal Network ले आगामी दिनमा पनि दुर्गम तथा विपन्न समुदाय लक्षित शिक्षा, बालकल्याण र सामाजिक उत्थानसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।