अष्ट्रेलिया,एडिलेड- एडिलेडस्थित एसके इभेन्ट एण्ड इन्टरटेन्मेन्टको व्यवस्थापनमा चर्चित नेपाली ब्यान्ड Kuma Sagar & The Khwopa को भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ। नेपाली संगीतप्रेमीहरूका लागि विशेष रूपमा लक्षित उक्त कार्यक्रम मे १, २०२६ मा Woodville Town Hall मा सम्पन्न हुनेछ, जहाँ दर्शकहरूका लागि साँझ ५ बजे गेट खुल्ने र कार्यक्रम ७ बजे सुरु हुने आयोजकले जानकारी दिएका छन्।
कुमा सागर एन्ड द ख्वोपा नेपाली संगीत ब्यान्ड हो, जसले परम्परागत नेवारी र नेपाली धुनलाई आधुनिक शैलीसँग मिसाएर नयाँ आवाज प्रस्तुत गर्दै आएको छ। ब्यान्डका गीतहरूमा इतिहास, संस्कृति र युवा रुचि समेटिएका छन्, जसले मौलिक र प्रभावशाली संगीत अनुभव दिन्छ।ब्यान्डले National Music Awards २०८१ मा ‘सर्वोत्कृष्ट ब्यान्ड’ को सम्मान जित्दै नेपालको संगीत उद्योगमा आफ्नो स्थान पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय रूपमा पनि ब्यान्डले २०२५ मा “Hawako Lahar Sangai Australia Tour” अन्तर्गत अष्ट्रेलियाका प्रमुख शहरहरूमा प्रस्तुति दिँदै, सिड्नीको Enmore Theatre मा पहिलो नेपाली कलाकारको रूपमा कार्यक्रम गरेको थियो।
यसअघि सार्वजनिक गरिएका २०० भन्दा बढी अर्ली बर्ड टिकटहरू सोल्ड आउट भइसकेको अवस्थामा, आयोजकले फेब्रुअरी ५ बाट ‘फर्स्ट रिलिज’ टिकट पनि सार्वजनिक गरिसकेका छन्। सीमित संख्यामा उपलब्ध हुने यी टिकटहरू छिट्टै सकिने अनुमान गरिएको छ। कार्यक्रममा ८ वर्षदेखि १८ वर्षसम्मका दर्शक र १८ वर्षमाथिका दर्शकका लागि छुट्टाछुट्टै प्रकारका टिकट उपलब्ध गराइनेछ, जसले परिवारसहित संगीतको मजा लिन चाहनेहरूका लागि पनि सहज अवसर प्रदान गर्नेछ।
एसके इभेन्टका निर्देशक कमल थापा मगर ले भने,“एडिलेडमा बसोबास गर्ने नेपाली समुदायलाई विश्वस्तरीय लाइभ संगीतको अनुभव गराउने हाम्रो उद्देश्य हो। कुमा सागर एन्ड द ख्वोपा जस्तो लोकप्रिय ब्यान्डलाई यहाँ ल्याउन पाउनु हाम्रो लागि गर्वको विषय हो। संगीतप्रेमी सबैलाई परिवार र साथीभाइसँगै आएर यो अविस्मरणीय साँझको हिस्सा बन्न हार्दिक निमन्त्रणा गर्दछु।”
आयोजकका अनुसार, यस कन्सर्टमार्फत एडिलेडमा नेपाली सांगीतिक माहोल थप सशक्त बनाउने र समुदायबीच सांस्कृतिक सम्बन्ध मजबुत पार्ने लक्ष्य राखिएको छ। दर्शकहरूले ब्यान्डका चर्चित गीतहरू प्रत्यक्ष सुन्ने र लाइभ ब्यान्डको ऊर्जाशील प्रस्तुति अनुभव गर्ने अवसर पाउनेछन्।
https://tixort.au/event/kuma-sagar-the-khwopa-live-in-adelaide/


तपाइँको प्रतिक्रीया