`एडिलेड — नेपाली समुदायभित्र ग्याम्बलिङ, मदिरा सेवन र लागूऔषध प्रयोगका लुकेका असरबारे मौनता तोड्दै खुला संवाद र प्रभावकारी समाधान खोज्ने उद्देश्यसहित FeNCAA South Australia ले आयोजना गरेको ‘Community Wellbeing Leaders Workshop’ सफलतापूर्वक सम्पन्न भएको छ। फेब्रुअरी ५, २०२६ मा Relationships Australia, Hindmarsh मा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा सहभागीहरूले संवेदनशील विषयहरूलाई केन्द्रमा राखेर खुलेर छलफल गर्दै समुदायमा देखिने वास्तविक चुनौती र समाधानका उपायबारे अनुभव साटासाट गरे। FeNCAA ले यस्तो संवादमूलक कार्यक्रमले समुदायभित्र आपसी समझदारी, सहकार्य र एकता मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमपछि FeNCAA ले जारी गरेको सन्देशमा भनिएको छ, “आजको दिन प्रेरणादायी सिकाइले भरिएको रह्यो। ग्याम्बलिङ, मदिरा र लागूऔषधका असरबारे विशेषज्ञहरूले साझा गर्नुभएको ज्ञानले हाम्रो समुदाय नेतृत्वलाई आवश्यक सहयोग पुर्याउने क्षमता बढाएको छ।”
South Australian Multicultural Commission की बोर्ड सदस्य मञ्जु खड्काले कार्यक्रम सफल बनाउन गरिएको प्रयास उल्लेख गर्दै यसले समुदाय स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्। Alcohol & Drug Foundation की क्षेत्रीय कम्युनिटी डेभलपमेन्ट म्यानेजर लुइसा ग्रेकोले समुदाय स्वास्थ्यसम्बन्धी व्यवहारिक र गहिरो जानकारी प्रस्तुत गरिन्। Relationships Australia की प्रोग्राम म्यानेजर मेमूना रफिकले समुदाय सहयोग प्रणालीबारे आफ्नो विशेषज्ञ अनुभव साझा गरिन् भने PEACE Multicultural Services का वरिष्ठ काउन्सेलर तथा केस म्यानेजर एन्डी एन्डोले पेशागत र यथार्थपरक दृष्टिकोण प्रस्तुत गर्दै सहभागीहरूलाई मार्गदर्शन गरे।
FeNCAA साउथ अस्ट्रेलियाका संयोजक पुस्कर कोइरालाले भने, “हाम्रो समुदायमा धेरै समस्याहरू निजी र संवेदनशील हुने भएकाले मानिसहरू सहयोग खोज्न ढिला गर्छन्। यो वर्कशपले नेतृत्वकर्ताहरूलाई सही ज्ञान, व्यवहारिक उपकरण र संवेदनशीलता प्रदान गरेर आफ्ना संस्थामार्फत समस्या समाधान गर्न सहयोग गर्नेछ। सहानुभूति र ज्ञानको नेतृत्वबाट मात्र हामी स्वस्थ र सुरक्षित समुदाय निर्माण गर्न सक्छौँ।”










तपाइँको प्रतिक्रीया