२०८३ जेठ २१ बिहीबार

एडिलेड ब्वाइजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, रक्तदानमार्फत मानव सेवामा उदाहरण

  • admin २०८२ चैत १९ बिहीबार

एडिलेड/ अष्ट्रेलियाको एडिलेड मा बसोबास गर्ने नेपाली युवाहरूको सक्रिय समूह एडिलेड ब्वाइज को आयोजनामा म्यारियन ब्लड डोनर सेन्टर मा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २५ जनाले रक्तदान गर्दै मानव सेवामा महत्वपूर्ण योगदान दिएका छन्।

समुदायमा एकता, सहकार्य र सेवाभाव प्रवर्द्धन गर्ने उद्देश्यसहित सक्रिय एडिलेड ब्वाइजले यसअघि पनि विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। सोही निरन्तरतामा “Donate blood, save life” भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विशेषगरी अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका धेरै व्यक्तिहरूलाई रक्तदान प्रक्रिया, स्थान र तरिकाबारे पर्याप्त जानकारी नहुँदा सहभागी हुन कठिनाइ हुने गरेको अवस्थामा, यस कार्यक्रमले जानकारी र सहजता दुवै प्रदान गरेको आयोजकले जनाएको छ।

एडिलेड ब्वाइजका सदस्य भीम उपाध्याय ले कार्यक्रममा प्रतिक्रिया दिँदै भने, “रक्तदान जस्तो सानो देखिने कामले कसैको जीवन बचाउन सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो। विदेशमा बसेर पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण दिन हामीले यो कार्यक्रम आयोजना गरेका हौं। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने हाम्रो योजना छ।” उनका अनुसार यस पहलले नेपाली समुदायभित्र सेवा र सहयोगको भावना अझ बलियो बनाएको छ।

रक्तदानले आपतकालीन अवस्था, दुर्घटना, शल्यक्रिया तथा विभिन्न रोगका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने सन्देश कार्यक्रममार्फत पुनः स्थापित भएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ। कार्यक्रम उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।