एडिलेड/ अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा नव आगन्तुक नेपाली विद्यार्थी तथा सामुदायिक स्वयंसेवकहरूका लागि निःशुल्क ‘फर्स्ट एड’ (प्राथमिक उपचार) तथा ‘सीपीआर’ (Cardiopulmonary Resuscitation – CPR) तालिम आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) साउथ अष्ट्रेलिया स्टेट कोअर्डिनेसन काउन्सिल (SCC SA) को आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी जुन २०, २०२६ शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्लिम्पटन पार्कस्थित ५४६ मेरियन रोडमा बिहान १०:४५ बजेदेखि सुरु हुने उक्त तालिम विशेषगरी नेपालबाट हालै अष्ट्रेलिया आएका विद्यार्थी तथा समाजसेवामा सक्रिय स्वयंसेवकहरूलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो । आपतकालीन अवस्थामा कसरी तत्काल प्राथमिक उपचार गर्ने, कसरी सीपीआर प्रयोग गरेर बिरामीको ज्यान बचाउन सकिन्छ भन्नेबारे व्यावहारिक तथा जीवनोपयोगी ज्ञान प्रदान गरिने जनाइएको छ ।
कार्यक्रमलाई ‘Achievers College (RTO 46119)’ ले मुख्य सहयोग गरेको छ । आयोजकका अनुसार तालिममा सहभागीहरूलाई अनुभवी प्रशिक्षकमार्फत व्यवहारिक अभ्याससहित सिकाइ गराइनेछ भने सहभागीहरूका लागि हलुका खाजाको व्यवस्था समेत रहनेछ ।
एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले नेपाली समुदायका नयाँ पुस्ता र नव आगन्तुक विद्यार्थीहरूलाई अष्ट्रेलियाको जीवनशैली, कार्यस्थलको सुरक्षा संस्कार तथा आपतकालीन अवस्थासँग जुध्न सक्षम बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले यस्ता तालिमले केवल रोजगारीका अवसर बढाउने मात्र नभई समुदायमा जिम्मेवार र सचेत नागरिक निर्माण गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
“अष्ट्रेलियामा एज्ड केयर, चाइल्डकेयर, डिसेबिलिटी सपोर्ट, हस्पिटालिटी लगायतका क्षेत्रमा काम गर्न फर्स्ट एड र सीपीआरको ज्ञान अत्यन्त महत्वपूर्ण मानिन्छ । नयाँ विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै यस्ता सीप सिकाउने प्रयासले उनीहरूको आत्मविश्वास र अवसर दुवै बढाउँछ,” गुरुङले बताए ।
अष्ट्रेलियामा विशेषगरी एज्ड केयर, चाइल्डकेयर, डिसेबिलिटी सपोर्ट तथा विभिन्न सामुदायिक सेवासम्बन्धी क्षेत्रमा रोजगारीका लागि फर्स्ट एड तथा सीपीआर प्रमाणपत्रलाई प्राथमिक योग्यताका रूपमा हेरिने भएकाले यो तालिम नेपाली विद्यार्थीहरूका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सीमित सिट मात्र उपलब्ध भएकाले इच्छुक सहभागीहरूलाई छिटो दर्ता गर्न अनुरोध गरिएको छ । आयोजकले फ्लायरमा रहेको क्युआर कोड स्क्यान गरेर वा गुगल फर्ममार्फत अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।
दर्ता लिंक:https://forms.gle/Hs6dPv6NbJZQYPGYA
कार्यक्रमबारे थप जानकारीका लागि संगम पाण्डे (0426 677 717) तथा वसन्त सापकोटा (0420 812 729) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।


तपाइँको प्रतिक्रीया